एसपी रिपोर्टर
जनकपुरधाम, भदौ १६ : प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउत सहित प्रदेश २ का मन्त्रीहरुले जनकपुरधामको मठ–मन्दिरको जग्गा दुुरुपयोग हुन नहुने बताएका छन् । जनकपुरधामका एक मिडिया सञ्चालकले नै रसिक विहारी भगवान तेली कुटीको जमिन अतिक्रमण गर्न खोजेको आरोप सहित बुझाउन लागिएको ज्ञापन बुझदै मुख्यन्त्री राउतले जग्गा कब्जा गर्न नदिने बताएका हुन् । कुटीको जग्गाको विषयमा ध्यानाकषर्ण गराउन पुगेको पक्षसंग कुराकानी गर्दै मुख्यमन्त्री राउतले भने,‘जनकपुरधामका मठमन्दिरको कुनै पनि जग्गा कसैले कब्जा गर्न पाउनु हुदैन ।’ सम्पूर्ण मठ मन्दिर र त्यसको सम्पतीको सुरक्षाको जिम्मेवारी सरकारको रहेको उनले बताए ।
मुख्यमन्त्रीलाई ज्ञापन पत्र बुझाएपछि सो समुह आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवलाई भेटेका थिए । भेटमा मन्त्री यादवले भने, ‘मन्दिरको जग्गा कब्जा गर्ने काम यदि भएको छ भने त्यस्ताको पक्षमा कोही लाग्नु हुँदैन ।’ रसिक विहारी भगवान तेली कुटी सहितको सार्वजानिक जग्गा जोगाउन आफूले पूर्ण प्रयास गर्ने मन्त्री यादवले बताए । यसैगरी भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साहले समेत रसिक विहारी तेली कुटीको जग्गा सम्बन्धमा आफुहरुको ध्यानाकर्षण भएको भन्दै अनुसन्धान आवश्यक रहेको बताए ।
मुख्यमन्त्री तथा प्रदेश सरकारका मन्त्रीहरुलाई रसिक विहारी भगवान तेली कुटी र जानकी मन्दिरको जग्गा जोगाउन भन्दै ज्ञापन पत्र बुझाउन गएको टोलीमा पूर्व संघिय राज्यमन्त्री अरबीन्द साह, पूर्वसांसद धर्मेन्द्र साह, तेली कल्याण समाज धनुषाका अध्यक्ष रामबाबु साह, उद्योग वाणिज्य महासंघ प्रदेश २ का अध्यक्ष शिवशंकर साह हिरा, जिविसका पूर्वसभापति रामचरित्र साह, बैश्य कल्याण महासंघका राष्ट्रिय अध्यक्ष अमरनाथ गुप्ता, तेली कल्याण समाजका केन्द्रीय सचिव सत्यनारायण साह र तेली कल्याण युवा समाजको अध्यक्ष राज ुकुमार साह थिए ।