एसपी रिपोर्टर
जनकपुरधाम, भदौ १५ : वीरगंज महानगरपालिकाका मेयर विजय कुमार सरावगीका पिता तथा व्यवसायी चिरञ्जीवी लाल सरावगीको ७७ वर्षको उमेरमा मृत्यु भएको छ ।
राति १२ः०५ बजे ग्राण्डी अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो ।गत साउन २२ गते उनमा कोरोना संक्रमण देखिएपछि वीरगंजबाट काठमाडौं लगिएको थियो ।उनलाई साउन २४ गते काठमाडौस्थित ग्राण्डी अस्पतालमा उपचारार्थ भर्ना गरिएको थियो । उनि कोरोना समेत जितिसकेको थिए । उनमा भदौ २ गते कोरोना रिपोर्ट नेगेटिभ पनि आएको थियो ।
मुटु र मृगौलामा जटिल समस्या देखिएपछि उनको अतिसघन कक्षमा राखेर उपचार भइरहेको थियो। तर, अचानक स्वास्थमा समस्या आएपछि मृत्यु भएको मेयर सरावगीका राजनीतिक सल्लाहकार मुकेश द्विवेदीले जानकारी दिए । सोमवार विहान १० बजे काठमाडौंस्थित पशुपति आर्यघाटमा उनको दाहसंस्कार गरिने कार्यक्रम छ ।
बिरगंजमा बि.सं. २००० सालमा जन्मेका सरावगी समाजसेवीका रुपमा चिनिन्थे । उनी वीरगंज उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष, मारवाडी परिषदको केन्द्रीय अध्यक्ष, लायन्स क्लवको गभर्नर लगायत धेरै सामाजिक संघ संस्थामा आवद्ध रही काम गरिसकेका थिए । उनका मेयर सरावगी सहित दुई छोरा एक छोरी गरी तीन सन्तान छन् ।
