निरञ्जन साह
जनकपुरधाम, भदौ १३ : जनकपुरधामको धार्मिक एवं सांस्कृतिक धरोहरहरुको संरक्षणका लागि २ सय ५१ सदस्यीय ‘जनकपुरधाम धार्मिक सम्पदा संरक्षण समिति’ गठन गरिएको छ । जनकपुरधामको विभिन्न समाजिक संघ–संस्था, धार्मिक संस्था र जातीय संगठनलगायतका जनकपुरवासीहरुको उपस्थितिमा राकेश विक्रम साहको नेतृत्वमा समिति गठन गरिएको छ। व्याहुत कलवार सेवा समितिको भवनमा बसेको बैठकले समितिको सल्लाहाकारमा बीपी साह र शंकार साहलाई चयन गरेको छ ।

समितिले पहिलो चरणमा रसिक विहारी भगवान तेली कुटी (मन्दिर) र नुनीया कुटीको अतिक्रमति जग्गा संरक्षणको जिम्मेवारी दिइएको छ। क्रमिक रुपमा अन्य मठ–मन्दिर तथा कुटीहरुको जग्गा तथा सम्पदा संरक्षणका लागि समितिले काम गर्ने कार्यादेश दिइएको छ । समितिमा जनकपुर उद्योग वाणिज्य संघ, जनकपुर जेसिस, महाविर युवा कमिटी, राम युवा कमिटी, जिरो माइल युवा कमिटी, रजौल युवा कमिटी, रामजानकी युवा कमिटी, भैरव युवा कमिटी, विश्व हिन्दु परिषद्लगायतका दर्जनौं संस्थाको सहभागिता रहेको छ ।
समितिलाई थप सशक्त बनाउन जनकपुरधामका अन्य सम्पूर्ण जातीय संगठनहरुलाई जोडिने र छलफल भइरहेको संयोजक साहले जानकारी दिएका छन् । साहले भने, ‘जनकपुरधामको अब एक इन्च जमिन दायाँ बाँया हुन दिइने छैन ।’