पुरन रौनियार
जनकपुरधाम, भदौ २ : देशकै आधा भन्दा बढी जनसंख्या रहेको प्रदेश २ मा कोरोना संक्रमण बढदै गएको छ । जनघनत्वको हिसावले समेत कोरोना संक्रमणको अत्याधिक जोखिममा छ प्रदेश २ । समुदाय स्तरमा फैलिसकेको भनिएको कोरोना संक्रमणका विरामीहरुले अस्पतालमा बेडको कमी त छदै त विरामीको ज्यान बचाउन नभई नहुने भेन्टिलेटर समेत न भएपछि कतिपयले ज्यान गुमाइरहेका छन् ।
जनकपुरधाम प्रादेशिक अस्पतालमा कोरोनाका विरामीका लागि एउटा मात्र भेन्टिलेटर छ तर चलाउने दक्ष जनशक्ति छैन । प्रादेशिक अस्पतालको जेनरल आइसियुमा रहेको भेन्टिलेटर चलाउने दक्ष चिकित्सक रहेपनि कोभिड आइसियुमा नर्सको भरोसामा एउटा भेन्टिलेटर छ । प्रादेशिक अस्पतालका निम्ति मेडिकल सुपरीटेन्डेन्ट डा. जामुन सिंहले कोभिड आइसियुमा भेन्टिलेटर चलाउन नर्सलाई सिकाइएको बताए । उनले दक्ष जनशक्ति आवयश्क रहेको बताए ।
महोतरीमा पाँच वटा छ तर छैन चलाउने जनशक्ति
महोतरीको जलेश्वर स्थित जिल्ला अस्पतालले प्रदेश सरकारको सहयोगमा पाँचवटा भेन्टिलेटर मगाए पनि थन्काएर राखिएको छ । भेन्टिलेटर जडान र तथा चलाउने जनशक्ति नभएका कारण किनिएको भेन्टिलेटर त्यसै थन्किएको चिकित्सकहरु बताउछन् । कोरोना महामारी होस या जुन सुकै रोग नागरिकको एउटै भरोसा अस्पताल माथी नै हुन्छ तर कोरोनाको कहरमा विषम परिस्थितीमा एकदमै काम लाग्ने भेन्टिलेटर ल्याएर पनि चलन नसक्नुले स्थानियवासी त्रसित छन् ।
क्लोथ बैंक धनुषाले भेन्टिलेटर ल्याउदै
एता क्लोथ बैंक धनुषाको माध्यमले केहि भेन्टिरलेटर प्रादेशिक अस्पतालका लागि ल्याइदै छ । काठमाण्डौं स्थित भेन्टिलेटर बैंकसंग प्रति भेन्टिलेटर दैनिक एक हजार भाँडा तिर्ने गरि करिव छ वटा भेन्टिलेटर ल्याउन लागिएको बैंकका अध्यक्ष राजिव झाले बताए । भेन्टिलेटरको भाँडा विपत व्यवस्थापन धनुषावाट तिरिदिने प्रतिवद्वता धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराइले जनाएका छन् ।
बैंकका अध्यक्ष झाले भने, ‘छ वटा मागेका छौं, सुरुमा कति पठाउने हुन, सिडिओ साबले भाडाँ तिर्छु भन्नु भा छ ।’ अस्पतालले दक्षजनशक्ति लगाएर भेन्टिलेटरको सदुपयोग गर्न सके धेरैको ज्यान बचाउन सकिने छ । हामीले कोशिस गरेर ल्याउने हो, झाले भने, ‘प्रदेश सरकार र अस्पतालले त्यसको सदुपयोग कसरी गर्छ त्यसमा भर पर्छ ।’ डा. सिंहले पनि क्लोथ बैंक धनुषाले अस्पतालका लागि भेन्टिलेटर ल्याउन लागेको सुनेको बताए । यद्यपि उनले दक्ष जनशक्ति पनि आवयश्क पर्ने बताए ।
प्रदेश स्वास्थ्य कार्यदलका संयोजक तथा प्रदेश सरकार कोभिड व्यवस्थापन समितिका सल्लाहकार डा. रामकेवल साहले बैंकले राम्रो काम गरेको भन्दै प्रदेश सरकार र अस्पताल प्रशासनले तुरन्त कार्यान्वयनका लागि पहल गर्नु पर्ने बताए । दक्ष जनशक्ति राखेर भेन्टिरलेटरको सदुपयोग गर्न सकिए धेरैको ज्यान बचाउन सकिने उनको तर्क छ ।