एसपी रिपोर्टर
जनकपुरधाम, भदौ १ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नारायणी अस्पतालको मेडिकल सुपरिटेन्डेन परिवर्तन गरेको छ । मन्त्रालयले आइतबार मन्त्रिस्तरीय निर्णय गर्दै नारायणी अस्पतालको मेसुको जिम्मेवारी डा. सञ्जय ठाकुरलाई दिएको छ । उनी जनकपुरधाम प्रादेशिक अस्पतालको मेसु समेत रहिसकेको र सुधारका लागि कडाई गर्दा सरुवा भएका चिकित्सक हुन ।
उनी यसअघि वीर अस्पतालमा कार्यरत थिए । अहिलेसम्म नारायणीका मेसु रहेका डा. मदनकुमार उपाध्यायलाई मन्त्रालय फिर्ता बोलाइएको छ । पछिल्लो समय वीरगञ्जमा कोरोनाको हटस्पट बन्दै गएको छ । अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मी समेत संक्रमित हुन थालेपछि सेवा सञ्चालन गर्नसमेत गाह्रो भएको छ ।
केही दिनअघि स्थानीय बताउने अराजक तत्वले अस्पतालमा पसी तोडफोड गर्नुका साथै डाक्टरमाथि समेत आक्रमणको प्रयास गरेका थिए । मेसु डा उपाध्यायलाई कालोमोसो लगाउने प्रयाससमेत गरेका थिए । मन्त्रालयका सहसचिव रघुराम बिष्टले वीरगञ्जको पछिल्लो अवस्था र विद्यमान परिस्थितिलाई हेरेर उपयुक्त निर्णय लिइएको बताए । उनले डा. उपध्यायलाई अहिले मन्त्रालयमा काजमा ल्याइएको प्रतिक्रिया दिए ।