पुरन रौनियार
जनकपुरधाम, साउन ३२ : मृत्यु भएपछि परिवारजनलाई दाहसंस्कार गर्न शव जिम्मा लगाउने र त्यसको दुई तिन दिन पछि मृतकलाई संक्रमित भनेर सरकारी संयन्त्र समाजमा भय र त्रास फैलाउन उद्दत रहेको देखिन्छ । जनकपुरधाम उपमहानगरपालिका वडा नं. ६ का सोहन ठाकुरको शनिवार विहान काव्या अस्पतालमा उपचारको क्रममा मृत्यु भयो । उनको कोरोनाको लक्ष्ण देखिएको भनिएपनि अन्य रोगहरुले समेत पिडित ठाकुरको शव दाहसंस्कारका लागि परिवारजनको जिम्मा लगाइयो र उनको शनिवार नै दाहसंस्कार समेत भयो । तर आइतवार उनमा कोरोना संक्रमणको रिपोर्ट आएपछि परिवारजन सहित छरछिमेक र समाज नै त्रसित बन्यो ।
केहि दिन अगाडि मात्र कोरोनाको लक्ष्ण सहित मृत्यु भएका धनुषा ललियाका मृतक पुरुषलाई पनि दुई दिन पछि संक्रमित भनियो । कदमचौक स्थित एक अस्पतालमा निधन भएका सो पुरुषको तत्कालै सोहि दिन दाहसंस्कार गर्न लगाइयो । ललियाका स्थानिय तथा सञ्चारकर्मी राकेश साहका अनुसार मृतकको कन्टयाक्ट ट्रेसिंङ्ग गरि कुल ४७ जनाको स्वास संकलन गरि परिक्षण गरिएकोमा आइतवार आएको ३२ जनाको रिपोर्ट मध्ये उनको परिवारजन सहित कुल ११ जनामा संक्रमण पता लाग्यो । यो त उदाहरण मात्र हो कोरोना कालमा नेपालमा मृत्यु भएका मध्ये अधिकांशमा मृत्यु पश्चात नै संक्रमणको पुष्टी हुने परम्परा नै बसिसकेको छ ।
सवैलाई डर र त्रासमा पार्ने सरकारको यो कुन निति हो ?
यस्तो क्रियाकलापले दिनानुदिन समाज भयभित हुन थालेको छ । कोरोनाको महामारीमा कालगती र अन्य कुनै कारणले मृत्यु हुँदा समेत अन्तिम संस्कारका लागि मान्छे उपलब्ध हुन नसकिरहेको अवस्थामा सरकारको यो रवैयाले समस्यामा पडेका पिडित परिवारहरुका लागि झनै कष्टकर अवस्थाको सृजना भइरहेको छ । सरकारको यस्तो क्रियाकलापले आपत विपतमा परेकालाई समाजका छरछिमेकले समेत सहयोग नगर्ने अवस्थाको सृजना भइरहेको छ ।
सरकारले कोरोना शंकाष्पद शवलाई दुई दिन मात्र सम्म पनि सुरक्षित राख्ने सम्मको समेत व्यवस्था गर्न नसक्नुमा स्थानियवासी दुःख व्यक्त गर्छन । जनकपुरधामका स्थानियवासी भन्छन्, ‘या कि कोरोनाको निश्कर्ष लगाएर मात्र शव परिवारजनलाई हस्तान्तरण गरियोस, तर यसरी रिपोर्ट ल्याएर जनता डराउने काम नगरियोस ।’ सरकारी गतिविधीले भय र त्रासको वातावरणको सृजना भइरहेको छ । समाजिक परम्परा र सहयोग सदभावका कारण दाहसंस्कारमा मलामी गएकाहरुलाई समेत सरकारले चैनले बस्न दिन नसकेको गुनासो नागरिकहरुको छ ।