एसपी रिपोर्टर
काठमाण्डौं, साउन २९ : नयाँ नक्सा जारी भएपछि नेपाल–भारतवीच कायम रहेको शीतयुद्धको स्थितिमा ब्रेक लाग्ने सम्भावना देखिएको छ । अगामि अगस्ट १५ तदनुसार साउन ३१ गते शनिवार शनिवार भारतीय स्वतन्त्रता दिवसको अवसरमा प्रधानमन्त्री ओली भारितय प्रधानमन्त्री मोदीलाई फोन गरेर कुराकानी गर्ने तयारी भइरहेको बुझिएको छ ।
प्रधानमन्त्रीले समकक्षी नरेन्द्र मोदीलाई फोन गरी ७४ औं स्वतन्त्रता दिवसको शुभकामना दिने र पारस्परिक हितका कुरा गर्ने तयारी छ, त्यसैबेला दुई देशवीच थाती रहेका समस्याबारे चर्चा हुने र क्रमशः विभिन्न तहको वार्तामार्फत समाधानको पहल गर्दै जाने सहमति जुटेको औपचारिक समाचार बाहिर ल्याइने तयारी रहेको उच्च श्रोतको दावी छ । त्यसैको तयारी स्वरुप राजदूत र अन्य माध्यमबाट घनिभूत वार्ता चलिरहेको बताइन्छ ।
भोलिपल्ट भने नेपालबाट परराष्ट्र सचिव शंकरदास बैरागी र आवागमनको असहजताका कारण भारतबाट कोही आउन नसक्ने भएकोले यहाँस्थित राजदूत बिनयमोहन क्वात्रालाई वार्ता थाल्ने अख्तियारी प्रदान गरिने स्रोतले बतायो ।