एसपी रिपोर्टर
जनकपुरधाम, साउन २८ : श्री कृष्ण जन्माष्टमीको भोली पल्ट आज (बुधवार) प्रत्येक वर्ष मेला लाग्ने रेल्वे स्टेशन सुनसान देखियो । अन्य वर्ष मेलामा भरिभराउ र दर्शनार्थीको एकदमै भडभाड हुने आजको दिन न त्यहाँ पण्डाल भित्रको भगवान देखियो भने दर्शनार्थी भक्तजनको पनि उपस्थिती देखिएन । प्रहरी प्रशासनले मेला समितिलाई मंलगवार मध्यराती पुजापाठ गरेर बुधवार पण्डाल हटाउन भनेकाले समिति बुधवार निषेधाज्ञाको पालना गर्ने भन्दै भगवानको प्रतिमा र पण्डाल बिसर्जन गरेका हुन ।
कतिपय मेला र दर्शनका लागि बेलुकी रेल्वे स्टेशन पुग्ने गरेको भएपनि पण्डाल नदेखेपछि फर्किदै थिए । रेल्वे स्टेशनमा कृष्णजन्माष्टमीको अवसरमा जनकपुरधाममै सवार्धिक भिडभाड हुने मेला लाग्ने गरेको छ । तर कोरोना महामारीलाई ध्यानमा राखेर यस वर्ष निषेधाज्ञा जारी भएकाले यस वर्षको मेला प्रभावित भएको छ । यहाँ विगत ५४ वर्ष देखि जन्माष्टमीको पुजापाठ तथा मेलाको आयोजना हुदै आएको भएपनि स्थितीलाई ध्यानमा राख्दै यस वर्ष मंगलवार मध्यराती सम्मको विधिवत पुजापाठ मात्र गरि मेलाको आयोजना नगरिएको स्टेशन एरिया युवा समितिका सल्लाहकार जितेन्द्र महासेठले बताए ।
त्यस्तै अर्को भिडभाड हुने गोपाल सेवा समितिको श्री कृष्ण मन्दिरमा समेत फाटफुट मात्र दर्शनार्थी देखियो । मन्दिरको प्रवेशद्वारा बन्द गरिएकाले फाटफुट रुपमा आएका भक्तजनहरु कोहि बन्द रहेको द्वार सम्म पुगेर त कोहि सडक तलवाटै भगवानलाई ढोग्दै जाने गरेको देखियो । मन्दिरमा समाजिक दुरीका साथ केहि प्रसाद बेच्ने पसले र फाटफुट भक्तजनको चहल पहल भने देखियो ।
जनकपुरधामको जिरो माइल स्थित जनकपुर युुथ क्लवको आयोजनामा बन्ने पण्डालमा भने चलह पहल देखियो । जिरो माइल स्थित प्रहरी चौकी छेउमै बनाइएको पण्डालमा दर्शनार्थी तथा भक्तजनको बेलुकी तर्फ आउने जाने क्रम तथा समान्य चहल पहल देखियो । समान्य अवस्थामा यस धार्मिक आयोजना तथा स्थलहरुमा अन्य वर्ष एकदमै भिडभाड र मेला उत्सव हुने गरेकोमा कोरोना कहरले यसवर्ष प्रभावित भएको छ ।