एसपी रिपोर्टर
जनकपुरधाम, साउन १८ : प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधाममा पनि सोमवार माध्यरात देखि निषेधाज्ञा (कर्फ्यु) जारी गरिएको छ । एसपी खवरसंग कुराकानी गर्दै धनुषाका सिडिओ प्रेमप्रसाद भट्टराईले सोमवार राति १२ बजेदेखि लागु हुनेगरी एक साताका अगामि आइतवार राती १२ बजे सम्मका लागि निषेधाज्ञा जारी गर्ने निर्णय भएको जानकारी दिए ।
कोरोना संक्रमितको संख्या दिन–प्रतिदिन बढ्दै गएपछि निषेधाज्ञा जारी गर्ने निर्णय गरिएको उनले बताए । उनका अनुसार स्थानीय प्रशासन ऐन,२०२८ को दफा ६ (३) र संक्रामक रोग ऐन २०२० को दफा २ बमोजिम जिल्ला सुरक्षा समितिको निर्णयअनुसार जनकपुरधाम उपमहानगरपालिकाभर निषेधाज्ञा जारी गरिएको छ । अत्यावश्यक काम बाहेक बिना पास घरबाट बाहिर निस्किए कारवाही गरिने उनको भनाई छ ।
निषेधाज्ञाको समयमा औषधि पसल, अस्पताल तथा स्वास्थ्य केन्द्र, एम्बुलेन्स लगायत संचालनमा रहने जनाइएको छ । धनुषामा एक जनाको कोरोनाले मृत्यु भएको छ भने उच्च अदालत जनकपुरका एक न्यायाधीश, प्रादेशिक अस्पताल जनकपुरधामका तीन नर्स, सामाजिक विकास मन्त्रालयका तीन कर्मचारीसहित सैयौं व्यक्तिमा कोरोना पुष्टि भइसकेको छ ।