एसपी रिपोर्टर
जनकपुरधाम, साउन ६ : पछिल्लो केहि समय देखि जनकपुरधाम उपमहानगरपालिकाले सडकमा रहेको फोहर उठाएर व्यवस्थापन गर्न नसक्दा युवाहरुमा आक्रोस बढेको छ । उपमहानगरपालिका कार्यालयले नगर क्षेत्रभित्रको फोहोर उठाउन नसकेपछि युवाहरु यहाँ सम्म आक्रोसित भए कि मुख्य चोकहरु, गल्ली र पर्यटकीय स्थानहरुमा रहेको फोहोर उपमहानगरको गेटमै थुपारि दिएका छन् ।
नगरको फोहोर व्यवस्थापन तर्फ उपमहानगरपालिका कार्यालयले चासो नदेखाएपछि मंगलबार विहान युवाहरुको समुहले रामानन्द चोकदेखि मुख्य बजार क्षेत्रको फोहोर आफैँले संकलन गरि उपमहानगरपालिकाको ढोकामा थुपारेका छन् । युवाहरुको समुहले रामानन्द चोकदेखि, अस्पताल रोड, जानकी चोक, जनक चोक, शिव चोक हुँदै बजार क्षेत्रमा देखिएको फोहरहरु ट्रयाक्टरमा हाली उपमहानगरपालिका कार्यालय अगाडी थुपारेको हो । उनीहरुले यसलाई सांकेतिक विरोध भनेका छन् ।
जनप्रतिनिधि निर्वाचित भएर आएको तीन वर्ष बितिसक्दा पनि नगरक्षेत्रको फोहोर व्यवस्थापनका लागि उचित ठाउँसमेत निर्धारण गर्न नसक्नु ठूलो दुर्भाग्य रहेको युवा अगुवाहरुले बताएका छन् । एता मेयर लालकिशोर साहले ल्यान्डफिल साइट बनाउन नगरवासी समेत साथ नदिएको र वर्षातको समयमा कर्मचारीको समेत ढिला सुस्तीका कारण केहि ठाँउमा समयमै फोहर उठन नसकेको स्वीकार गरेका छन् । मेयर साह भन्छन् ‘विहान गाडी जाँदा फोहर हुदैन गाडी फर्केपछि फोहर थुपार्ने काम समेत भइरहेको छ ।’
स्थानियको अवरोध र कसैले पनि आफनो क्षेत्रमा ल्यान्डफिल साइट राख्न नदिने अवरोधका कारण उपमहानगरपालिका कार्यालयले ल्यान्डफिल साइट बनाउन नसक्दा एसियाली विकास बैंकले अनुदान दिएको ४८ करोड रुपैयाँ गत वर्ष फिर्ता भएको थियो ।