एसपी रिपोर्टर
जनकपुरधाम, साउन १ : मेलम्ची खानेपानी आयोजनाको सुरङ परीक्षणका क्रममा गाडी नदीमा खसेर धनुषाको कमला नगरपालिका ५ का इन्जिनियर सतिश गोइतको मृत्यू भएपछि उनको गाउँ मात्र नभई इन्जिनियर समाज नै शोकमा डुबेको छ ।
२५ वर्षको कलिलै उमेरमा दुर्घटनाका कारण ज्यान गुमाएका गोइतका आफन्त, गाँउवासीका साथै सहकर्मी साथी इन्जिनियरहरु समेत उनको निधनले मर्माहत भएका छन् । यस दुःखको घरिमा नेपाल इन्जिनियरर्स एशोसिएसन प्रदेश २ कमिटिले जनकपुरधाममा दिप प्रज्वलन गरि स्व. सतिश प्रति श्रद्धाञ्जली अर्पण गरेको छ । कमिटिका सहसचिव ई.भावेश मिश्रको अगुवाईमा भएको श्रद्धाञ्जली कार्यक्रममा सहभागिहरुले घटना प्रति दुःख व्यक्त गर्दै छानविनको मांग गरेको छ ।
सहसचिव मिश्रले भने, ‘हामी दिप प्रज्वलन गरि सतिश प्रति श्रद्धाञ्जली अर्पण गरयौं र यत्रो ठुलो महत्वकांक्षी आयोजनामा लापरवाहीकै कारण दुर्घटना भएको हुन सक्ने भएकाले दोषि पता लगाएर कारवाहीको मांग समेत गरेका छौं ।’ उनी जिवनप्रति निकै आशावादी सोच राख्ने इन्जिनियर थिए, उनीहरु बताउछन् । सतिशका साथीहरुले सामाजिक सञ्जाल मार्फत पनि निधन प्रति दुःख जताइरहेका छन् । धनुषा क्षेत्र २ बाट निर्वाचित प्रतिनिधीसभा साँसद उमाशंकर अरगरियाले समेत श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
आयोजनाको सुरङ परीक्षणका क्रममा सुरुङको १७ नं. गेट फुट्दा मङ्गलबार दिउँसो गाडी नदीमा खसेर इन्जिनियर गोइतसहित दुई जना बेपत्ता भएका थिए । गोइतको शव बुधवार दिउँसो नै फेला परिसकेको छ । उनीसँगै वेपत्ता आयोजनामा कार्यरत अन्दाजी ५५ वर्षीय सवारी चालक राधाकृष्ण थापा मगरको अवस्था अझै अज्ञात नै छ । कार्यक्रममा कमिटिका उपाध्यक्ष दिलिप कुमार श्रीवास्तव, सचिव अजित कुमार यादव,जउनपा वडा नं. ३ का वडा अध्यक्ष दिपेन्द्र साह सहितको सहभागिता थियो ।