एसपी रिपोर्टर
काठमाण्डौं, असार २९ : प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान राम नेपाली भएको दाबी गरेका छन् । भानु जयन्तीका अवसरमा प्रधानमन्त्री निवासमा सोमबार आयोजित कार्यक्रममा उनले भारतले नक्कली अयोध्या खडा गरेर सांस्कृतिक तथ्य माथि आक्रमण गरेको बताएका हुन् ।
प्रधानमन्त्रीको यो अभिव्यक्तिले पुनः भारतिय मिडिया तातेको छ । ओलीले भनेका छन, ‘सीतालाई भारत होइन अयोध्या विवाह गरिएको हो र अयोध्या नेपालमै थियो ।’
उनले भगवान रामको राज्य अयोध्या नेपालको वीरगञ्ज पश्चिम ठोरीमा भएको बताए । उनले भारतले अयोध्या खडा गरेको दाबी समेत गरे ।
‘हामी अहिले पनि ठानिरहेका छौँ हामीले ‘सीता’ भारतका राजकुमार रामलाई दियौँ । भारतका होइन अयोध्याकालाई दिएका हौँ हामीले । अयोध्या भनेको वीरगञ्ज भन्दा अलि पश्चिमपट्टीको गाउँ हो । अहिले खडा गरिएको अयोध्या होइन,’ उनले भने, ‘अयोध्या भीषण विवाद छ है त्यहाँ । हाम्रोमा विवाद नै गर्नुपर्दैन । अयोध्या वीरगञ्जको पश्चिमपट्टी ठोरीमा, बाल्मिकी आश्रम यही (नेपालमा) र दशरथबाट सन्तान नभएपछि पुत्रीष्टी यज्ञ लगाउने पण्डीत जी रिडीका। त्यसकारण सन्तान (राम) पनि भारतीय होइनन् ठाउँ (अयोध्या) पनि भारतीयको होइन ।’
भारतले भनेको अयोध्या नै सही भए त्यहाँका राजा जनकपुर विवाह गर्न कसरी आइपुगे भनेर प्रश्न गर्दै प्रधानमन्त्री ओलीले त्यो समयमा कुनै सञ्चार सुविधाबिना अहिले भारतले बनाएको अयोध्याबाट राम आउन सम्भव नभएको बताए ।
तर जानकारहरु ओलीको सत्ता बचाउने अर्को दाउको रुपमा यस अभिव्यक्तिलाई लिएका छन् । भारतमा धर्मका ज्ञाताहरु धर्म, पुजापाठ भगवान र मन्दिरसंग कुनै सरोकार नै नराख्ने र धर्म नै नमान्ने व्यक्ति अहिलेको परिपेक्षमा यस्तो अभिव्यक्ति दिएर भारतमै पनि खेल्न थालेका विश्लेषण गर्छन् ।