एसपी रिपोर्टर
जनकपुरधाम, असार २५ : नेपाल सरकारको निर्देशन बमोजिम डिसहोम नेपालले भारतको न्युज च्यानलहरु बन्द गरेपछि असन्तुष्टि बढ्न थालेको छ । जनकपुरधाममा समाजवादी पार्टीका युवाहरु तथा भातृसंगठनका युवाहरुले सञ्चारमन्त्रीको खडो आदेशमा विदेशी च्यानलहरु बन्द गरेको विरोधमा जनकपुरधाममा प्रदर्शन गरेको छ ।
उनीहरुले नेपालका जनताहरु नेपालमा मात्र नभई भारत सहित विश्वभरि छरिएकाले कुनै पनि सञ्चारको हक खोस्न नहुने भन्दै नेपाल सरकारको यो निति निरंकुश शासनको उदाहरण रहेको बताए । आफुहरुले हेर्दै आएको च्यानलहरु पुनः प्रशारण नभए डिशहोमलाई बहिष्कार गर्ने र यहाँको विक्रेताहरुका साथै अधिकृत विक्रेताहरु सवै शाखाहरु बन्द गर्ने चेतावनी दिएका छन् ।
प्रदर्शनका क्रममा उनीहरुले डिशहोम मुर्दावाद नेपाल सरकार मुर्दावाद निरंकुश शासन बन्द गर सहितका नाराहरु लगाएका छन् । उनीहरुले सरकारको हरेक गतिविधी जनता विरोधी रहेको र निरंकुशता लाद्दन चाहेको समेत बताएका छन् ।
भारतिय न्युज च्यानलहरु बन्द गर्ने निर्णय
विदेशी च्यानल वितरक मल्टी सिस्टम अपरेटर (एमएसओ) हरुले भारतीय न्युज च्यानलहरुको प्रसारण नेपालमा बन्द गरेका छन् । च्यानल वितरकहरुले बिहीबार साँझदेखि सरकारी स्वामित्वको दूरदर्शनबाहेक सबै भारतीय न्युज च्यानलको प्रसारण रोक्ने निर्णय भएको मेगा म्याक्स टिभीका उपाध्यक्ष ध्रुव शर्माले बताए । स्रोतका अनुसार सरकारले यस्तो निर्देशन दिएको हो ।
भारतीय टिभी च्यानलहरुले नेपालका बारेमा अतिरन्जित र अनर्गल प्रचार गरिरहेको र पछिल्लो समय प्रधानमन्त्री तथा चिनिया राजदूतको नाम जोडेर आपत्तिजनक विषयहरु प्रसारण गरेपछि ती च्यानलहरु नेपालमा नदेखिने बनाइएको शर्माले बताए । तर इन्टरनेटबाट आउने सामग्री रोक्न सरकारले नीति नल्याएसम्म चाहेरमात्र भारतीय च्यानलको प्रसारण रोक्न सकिन्न उनको भनाई छ ।
सरकारले क्लिन फिड लागु गर्नुअघिनै इन्टरनेटबाट अनाधिकृत रुपमा आउने भिडियो कन्टेन्टहरु रोक्न एमएसओहरुले आग्रह गरिरहेका छन् । केबल अपरेटरहरुलाई सरकारले आग्रह गर्दा जुनसुकै बेला विदेशी च्यानलको प्रसारण रोक्न सक्छ । डिसहोम,मेगा म्याक्स, डिएसएन, मेरो टिभीलगायतका अपरेटहरुले साम”हिक रुपमा भारतीय न्युज च्यानलहरुको प्रसारण बन्द गर्ने निर्णय गरेका हुन् । म्याक्स टिभीका शर्माले अब सरकारले नेपालमा दर्ता नभएका र इन्टरनेटको माध्यमबाट आउने भिडियो कन्टेन्टहरुको मुहाननै बन्द गर्नका लागि सञ्चार मन्त्रालयसँग छलफल हुने बताए ।