बिनोद कुमार महरा
जनकपुरधाम, असार १३ : आर्थिक रुपमा विपन्न राजु सदाको बुवा अशेश्वर सदालाई तराइ मानवअधिकार रक्षक संजाल (थर्ड एलाइन्स) ले आर्थिक सहयोग गरेको छ । थर्ड एलाइन्सका प्रादेशिक संयोजक विनोद महराले घरमै पुगेर अशेश्वर सदालाई नगद दश हजार रुपैया हस्तान्तरण गरेको हो ।
अशेश्वरको तीन छोरी र एक छोरा थियो । घरको जेठो छोराको मृत्यु भएपछि घर परिवार अपाङग जस्तै भएको छ । आशाको किरण छोरो राजुको निधनले परिवारमा सवै शोकाकुल छन् । उनीहरु सरकारी ऐलानी २ धुर जति घरेरीमा फुसको झुपडी घरमा गुजारा गर्दै आएका छन् । घर सानो झुपडी भएकोले सुत्न बस्न र खाना बनाउन समेत ठाउ पुग्दैन । घरको आँगनमा पलास्टीको झुपडी र एउटा मचान(खाट) बनाएर सुत्ने गरेको राजुको आमा निलम देवी सदाले बताइन ।
छोरीहरुलाई घरमा र आफुहरु बाहिर मचानमै रात बिताएर गुजारा गर्दै आएको उनले दुःखेसो पोखिन । घरमा अन्न छैन कसरी किरिया कर्म गर्ने ? उनले चिन्ता व्यक्त गरिन । छोरोको सम्झना आउने वितिकै उनी भक्कानिए । उनका अनुसार क्वारेन्टाइनमा छोरो विरामी भएको थाह पाएपछि गाउँका सवै नेताहरुलाई गुहार लगाइन तर कोइ पनि सुनवाइ गरेन । कोरोनाको आशंकामा कसैले सहयोग गर्न मानेन । कोरोनाकै आशंकामा समयमा उचित उपचार नपाएर राजुको मृत्यु भएकोले पिडित परिवार न्यायको लागि सवैसँग हार गुहार गरेका छन् ।
पीडित परिवारले न्याय र क्षतिपुत्र्तिको लागि मानवअधिकारकर्मीहरुसँग समेत आग्रह गरेका छन् । घटनाको सत्य तथ्य बुझ्न र पिडित परिवारलाई दुखको यस घरीमा केही आर्थिक सहयोग होस र केहि भएपनि राहत होस भन्ने उद्देश्यले मानवअधिकारकर्मीहरु थर्ड एलाइन्सका कानूनी सल्लाहकार भोगेन्द्र यादव, नेपाल मानवअधिकार संगठन क्षेत्रीय अध्यक्ष एवं मानवअधिकारकर्म विरेन्द्र कर्ण र अधिकारकर्मी अविनाश साहं समेत मृतक राजु सदाको घर पुगेका थिए ।
मानवअधिकारकर्मीहरु पिडित परिवारको गाउँमा पुग्दा स्थानीयहरु जम्मा भइ न्यायको लागि पहल गरि दिन समेत आग्रह गरेका थिए । हंसपुर नगरपालिका वडा नं.७ प्रसाही निवासी अशेश्वर सादाको छोरा १६ वर्षीय राजु सदाको प्रादेशिक अस्पताल जनकपुर अन्र्तगत कोरोना अस्पतालको आइसोलेसनमा २०७७ असार ९ गते विहान ३ः०० वजे मृत्यु भएको थियो । अस्पतालले असार ८ गते राजुको अवस्था विग्रेपछि पिडित परिवारलाई खवर गरेका थिए । क्रिटिकल अवस्थामा इमरजेन्सीमा भर्ना गरे राजुको ज्यान भने जोगिएन । ्
शवको बिना पोष्टमार्टम पिडित परिवारलाई जिम्मा लगाएर लैजा भनेपछि पिडित परिवार आफै शव वाहन भाडा गरेर शव लगेका थिए । शवको असार ९ गते नै अन्त्येष्टी गरेको पिडित परिवारजनले बताए । राजु १६ महिना पहिले रोजगारीको लागि भारतको मदरास पुगेका थिए । त्यहाँ उनी होटलमा काम गर्थे । कोभिड–१९ का कारण भारत सरकारले लक डाउन गरेपछि होटलहरु बन्द भयो । भारतबाट राजु सदा सहित ९ जनाको समुहमा ०७७ जेठ १४ नेपाल फर्के ।
उनीहरुलाई हंसपुर नगरपालिकाकै नौवाखोर अस्पतालमा क्वारेन्टाइनमा राखियो । १४ दिनसम्म क्वारेन्टाइन बसाइपछि ७ जनालाई घर पठाइयो र २ जना राजु सदा र अरुण सदाको आरडिटी रिपोर्ट पोजिटिभ आएको भन्दै हंसपुर नपा स्थित सो क्वारेन्टाइनले प्रादेशिक अस्पताल जनकपुर पठायो । उनीहरुको आइसोलेशनमा राखि उपचार गरिरहेको अस्पतालले बताए पनि ०७७ असार ९ गते विहान ३ वजे राजुको मृत्यु भयो ।
राजु नेपालको आएको १० दिनपछि २३ जेठमा मात्र आरडिटी टेष्टको लागि नमुना संकलन गरिएको थियो । आरडिटी रिपोर्ट पोजिटिभ आएपनि ५ दिनसम्म त्यही क्वारेन्टाइनमा राखियो । तव सम्म राजु पखाला लागेकाले कमजोर हुदै गएका थिए । पखालाले ग्रस्त भएका राजुलाई अस्पताल लग्न एम्बुलेन्सको समेत व्यवस्था थिएन । नगरपालिकाको टिपरमा राखेर जेठ २९ गते प्रदेशिक अस्पताल जनकपुरको आइसोलेसन पु¥याइयो । रिपोर्ट आएको थिएन तर पनि कोरोना हो भनेर अस्पतालले हेरचाह गर्न छाडिदियो ।
आइसोलेसनमा राखिएको १० दिनसम्म पनि पिसिआर रिपोर्ट आएन । असार ८ गते बल्ल पिसिआर रिपोर्ट नगेटिभ आयो । तब सम्म राजुको अवस्था चिन्ताजनक भइसकेको थियो । पेट दुखेर राजु आइसोलेसनमा ०७७ असार ५ गते देखिनै तडपिरहेका थिए । पीडाले तड्पिरहेको राजु बेडवाट तल खसेर भुइँमा पनि छट्पटाइरहे । उनी संगै बसेका साथीहरूले ‘राजु, राजु के भयो ? भन्दै बेडमा उठाएर राख्थे तर स्वास्थ्यकर्मी भने कोही आएन ।
उनलाई कोरोना नभएर मेङ्गे इन्फलाइटिक्स भएको कारण मृत्यु भएको डा. कुलदिप पंडितले बताए । यो लामखुट्टेको टोकाइले लाग्ने रोग हो, कोरोनाको आशंकामा कोभिड अस्पतालमा राखि उपचार गरिएको तर समयमा पिसिआर रिपोर्ट नआएकोले विरामीको अवस्था विग्रेर मृत्यु भएको कोभिड अस्पतालको संयोजक डा. जामुन सिंहले बताए ।
हंसपुर नगरपालिकाले संचालन गरेको क्वारेन्टाइन र प्रादेशिक अस्पताल जनकपुरधामले संचालन गरेको आइसोलेशनको व्यवस्थापन पक्ष कमजोर रहेको छ । क्वारेन्टाइन तथा आइसोलेशनमा रहेको विरामीहरुलाई पोसिलो खाना, तातो पानी, वेड, मछरधुप वा मछरजाली, बाथरुम, चप्पल, सावुन पानी, सानिटाइजर लगायत सरसफाइ सामग्रीहरु समेत उपलब्ध नहुनुले पनि क्वारेन्टाइन तथा आइसोलेशनको व्यवस्थापन पक्ष कमजोर देखिएको छ ।