एसपी रिपोर्टर
जनकपुरधाम, असार ७ : नेकपा प्रदेश कमिटी सदस्य तथा नेपालमै कान्छो मेयर भनेर चिनिने शहिदनगर नगरपालिकाका मेयर उदय बरबरिया यादव ले उनकै पार्टीको निर्णय प्रति असन्तुष्टि व्यक्त गर्दै सो निर्णय सच्याउन माग गरेका छन । निर्णय हो नागरिकता विधेयकको विषयमा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले गरेको निर्णय ।
शनिबार बसेको नेकपा सचिवालय बैठकले विदेशी बुहारीलाई ७ वर्षपछि मात्रै वैवाहिक अंगीकृत नागरिकता दिने निर्णय गरेको छ । उक्त निर्णय मधेशी जनताको भावना विपरीत रहेको भन्दै नेकपा प्रदेश कमिटी सदस्य मेयर बरबरियाले निर्णय पुनर्विचार गर्न पार्टी नेतृत्वसंग आग्रह समेत गरेका छन् ।
उक्त निर्णयले नेपाल–भारतबीच परापूर्वकालदेखि चल्दै आएको रोटी–बेटीको सम्बन्ध बिथोल्ने र मधेशमा अविश्वासको वातावरण सृजना हुने नेता बरबरिया को भनाई छ । ढिला गरी नागरिकता दिँदा त्यसले राष्ट्रियता बलियो बनाउने तर्कमा कुनै तुक नभएको बताउदै बरबरियाले पाइरहेको सुविधा खोस्दा पार्टीलाई घाटा हुने तर्फ सचेत हुनुपर्ने बताए ।
‘नेपाली नागरिकसंग विवाह गरेको विदेशी महिलालाई विवाहको ७ वर्षपछि मात्र नागरिकता दिने पार्टीको निर्णय मुलभूत रुपमा मधेशी जनभावना विपरीत रहेको उनको दाबी छ ।