एसपी रिपोर्टर
जनकपुरधाम, जेठ २९ : सवैला घटनाको निश्पक्ष छानविनको मांग गर्दै जनकपुरधाममा प्रर्दशन गरिएको छ । धनुषाको सबैला नगरपालिकाको सबैला इलाका प्रहरी कार्यालयको हिरासतमै नपा वडा नं. १२ बस्ने शम्भु सादाको मृत्यु भएको घटनालाई लिएर नेपाल राष्ट्रिय मुसहर संघले प्लेकार्ड बोकेर दोषीमाथि कारवाहीको माँग गर्दै जनकपुरधाममा प्रदर्शन गरेका छन् ।

युवाहरुले मप्रहरी दमन मुर्दावाद, दलितमाथि हत्या हिंसा बन्द गर, सुरक्षा दिने प्रहरी चौकी नै असुरक्षित, हिरासतमै मृत्यु, हत्यारालाई कारवाही गर लगायतको नारा लेखिएको प्लेकार्ड सहित प्रदर्शन गरेका हुन । दर्जनौंको संख्यामा रहेका युवाहरु मोटरसाइकल जुलुस प्रदर्शन गर्दै प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई भेटेर दोषीमाथि हदैसम्मको कारवाहीको माँग गर्दै ज्ञापनपत्र समेत बुझाएका छन् ।

त्यस्तै उनीहरुले मुख्य न्यायधिवक्ता दीपेन्द्र झा, जिल्ला प्रशासन कार्यालय धनुषा, मानव अधिकार आयोगको कार्यालय लगायतमा समेत ज्ञापनपत्र बुझाएको छ । मृतक शम्भु सादाको आमालाई प्रहरी चौकीमा गुपचुप ल्याउनु, जबरजस्ती इन्जेक्शन लगाई औठाछाप लिनु आदिले आत्महत्या कुनै पनि हालतमा नरहेको र षड्न्त्रपूर्ण तरिकाले हत्या गरिएको आशंका ज्ञापनपत्रमा उल्लेख छ ।

‘प्रहरी हिरासतमा मृत्यु हुनु दुःखद कुरा हो’ मुख्यन्यायधिवक्ता दीपेन्द्र झाले ज्ञापन पत्र बुझ्दै भने, ‘प्रहरी हिरासतमा गएपछि सुरक्षाको जिम्मा प्रहरीलाई हुन्छ । तर प्रहरी हिरासतमै मृत्यु हुनु दुःखद र रहस्यमय छ । छानबिनका लागि हामीले प्रदेश प्रहरी प्रमुखलाई पत्र काटि सकेका छौं ।’ क्षतिपूर्तिका लागि प्रदेश सरकारमा पनि सिफारिस गरेका हौं उनले थपे ‘घटनाको छानबिन सत्यतथ्य किसिमले हुन्छ भन्ने मलाई विश्वास छ । प्रहरीकै मुद्दा हो त्यसैले प्रदेश सरकार पनि चनाखो भएर बसेका छन् ।’
यता मुसहर संघले दोषीमाथि छानबिनको माँग गर्दै क्षतिपूर्तिको पनि माँग गरेको छ । प्रहरी निरीक्षक चन्द्रभूषण यादवलाई यथाशीघ्र निलम्बन गरी निष्पक्ष छानबिन हुनुपर्ने र प्रहरी दमनमा घाइते भएकाहरुको निःशुल्क उपचार सहित मृतक परिवारलाई क्षतिपूर्ति दिनुपर्ने उनीहरुको मांग छ । ज्ञापनपत्र बुझाउने टोलीमा विपि साह, रामदियाल सदा, चन्देश्वर सदा सहितको सहभागिता थियो ।