एसपी रिपोर्टर
जनकपुरधाम, जेठ २८ : रक्त अभावका वेला समाजमा विभिन्न संघ संस्थाले रक्तदानको आयोजना गरि जिवनदानको काम गरिरहेको छ । यसै क्रममा मर्कजुद्दाराजतिस सुन्नीय मदर्सा गुलशने अजमेरी जनकपुरधाम–८ द्वारा रमजान सरिफ र ईदको मुवारक अवसरमा रक्तदान कार्यक्रम गरेको छ । सो अवसरमा कुल २७ जनाले रक्तदान गरेका छन् ।

रक्तदान गर्नेहरुको मनोबल बढाउन र कदरपत्र प्रदान गर्न जनकपुरधाम उप–महानगरपालिकाका प्रमुख लाल किशोर साह रक्तदान स्थल पुगेका थिए । प्रमुख साहले रगतले धनी गरिब, जात धर्म नछुट्याउने बताउँदै कसैले नयाँ जिवन पाउने भएको हुनाले रक्तदान गर्नेहरु ठुलो धर्मको भागीको बताए । रक्तदान गर्नेहरुलाई उनले धन्यवाद समेत ज्ञापन गरेका थिए । संकटको घरिमा रक्तदान जस्तो पवित्र काम गर्ने आयोजक संस्थालाई समेत उनले धन्यवाद दिए ।

हामी माग्ने व्यक्तिलाई ५÷१० रुपैया दान गर्दा कति खुसी र सन्तुष्ट हुन्छौ तर तपाई हामीले दान गरेको रगतले यदि कसैले ज्यान बाचेको छ भन्ने सोच्नोस कति ठुलो धर्मको भागी हुनु भो साहले थपे । कार्यक्रममा रक्तदान गर्नेहरुलाई प्रमाणपत्र र फुलको माला लगाई सम्मान गरिएको थियो । मदर्शा गुलशन अजमेरी वार्ड नः ८ ले आयोजना गरेको रक्तदान कार्यक्रममा मोहम्मद नाजमुद्दीन अनसारी, कार्यक्रम सयोजक मोहम्मद साजिद हुसैन र मदर्शाको सम्पूर्ण सदस्यहरु सहित स्थानियहरुले पनि सहयोग गरेको हुसेनले बताए ।