एसपी रिपोर्टर
जनकपुरधाम, जेठ २१ : धनुषाको शहिदनगर नगरपालिका वडा नं. १ बालाबाखवरमा रहेको डिहबार मन्दिर निर्माण बर्षौदेखि अलपत्र परेको बेला नगर प्रमुखको पहलमा निर्माण कार्य सुरु गरिएको छ । बालाबाखर स्थित रहेको अति पुरानो डिहबार मन्दिरको जिर्णोद्धार सहित साँस्कृतिक भवन निर्मााणको लागि शहिदनगर नगरपालिकाका मेयर उदय कुमार बरबरियाले शिलान्यास गरेपछि स्थानियवासी हर्षित भएका छन् ।
मन्दिर पूर्ण रुपमा जिर्ण भएपनि विभिन्न दलका नेताहरुले विभिन्न समयमा गएर ईट मात्र गाडेर गएपनि कसैले मन्दिर नबनादिएपछि अन्तत मेयरले उक्त मन्दिर निर्माणको लागि अग्रसरता देखाएको स्थानीय राजेन्द्र यादवले बताए । मन्दिर निर्माण र मन्दिरको साँस्कृतिक भवन निर्माणको लागि प्रथम चरणमा ८ लाख रुपैयाँ छुटयाइएको बताइएको छ । मन्दिरको कम्पाउड वाल (पर्खाल) सहित मन्दिरको पनि जिर्णोद्धार गरिने मेयर बरबरियाले बताए ।
स्थानीयहरुले भने,– ‘यही मन्दिरको जीर्णोद्धारको लागि कहाँ कहाँ गए । रामचन्द्र झा आए ईट गाडेर गए, दिनेश प्रसैला आए उ पनि इट नै गाडेर गए, अन्य धेरै नेता आएर गए, सबैको इट माटो भित्रै सडे तर मन्दिर बनेनन् । मेयर साहब उमेरमा हाम्रो छोरोको बराबर हुन तर पनि हामीहरुको लागि आसा मारिएको काममा पुनः आस्था जगाइदिनु भएको छ ।’
गाउँलेहरुको आस्थाको केन्द्र मानिएको नगर डिहबारको मन्दिरको जिर्णोद्धार नहुँदा पूजाआजा गर्न समेत समस्या भएको थियो । दिनानुदिन मन्दिर जमिनभित्रै भाँसिन थालेपछि स्थानीयहरु चिन्तामा परेका थिए । सोही क्रममा स्थानीयहरुले नगर प्रमुख बरबरियासँग मन्दिरको बारेमा गुनासो गरेपछि मेयरले आफैं गएर नीरिक्षण गर्दै मन्दिर निर्माणको लागि बजेट निकासा गरिदिएको स्थानीय सत्यनारायण यादवले बताए ।
मेयर बरबरियाले आज (बुधबार) डिहबार मन्दिरको कम्पाउण्ड वाल निर्माणको शिलान्यास गर्दै धार्मिक आस्थाको लागि स्थानीयहरुले पनि अग्रसर हुनुपर्ने बताए । उनले धार्मिक आस्था र विश्वासलाई कायम राख्न नगरका जनता र जनप्रतिनीधि पनि चासो लिनु आवश्यकता औल्याए ।
शिलान्यास कार्यक्रममा समाजिक दुरी कायम गरी शहिदनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धीरेन्द्र लाल कर्ण, वडा नं. ८ का वडाध्यक्ष तनुकलाल यादव, विनोद यादव, गुदरी बाबा, महिन्द्र यादव, अकुल बाबा लगायत सहित स्थानीय भद्र भलादमीहरुको सहभागीता रहेको थियो ।