एसपी रिपोर्टर
काठमाणडौँ , वैशाख ३ : सशस्त्र प्रहरीका सहायक निरीक्षक (असई) थमन विकको हत्या प्रकरणमा अडियो परीक्षण गरिएका विशेषज्ञलाई पुनः अदालतमा बोलाउन आदेश जारी गरिएको छ। उच्च अदालत जनकपुरको न्यायाधीशद्वय नरिश्वर भण्डारी र जगदीश घिमिरेको इजलासले बुधबार साइबर ब्युरोका विशेषज्ञ आनन्द निरौलालाई बयानका लागि उपस्थित गराउन आदेश दिएको हो।
यसअघि विशेषज्ञ दक्षेपी शेर्पाको बयान लिइएको थियो भने निरौला विदेशमा तालिममा रहेकाले बयान हुन सकेको थिएन। दुबैले घटनासँग सम्बन्धित आरोपीहरूको मोबाइल अडियो जाँच गरेका थिए।२०७२ सालमा दोस्रो मधेश आन्दोलनको क्रममा महोत्तरीमा एम्बुलेन्सबाट निकालेर असई विकको हत्या गरिएको थियो। सो घटनामा २८ जनाविरुद्ध कर्तव्य ज्यान र २५ जनाविरुद्ध आगजनीको मुद्दा दर्ता गरिएको थियो।महोत्तरी जिल्ला अदालतले नेकपा एमाले सांसद लक्ष्मी महतो कोइरीलाई सफाइ दिँदै लोकतान्त्रिक समाजवादी पार्टीका नेता तथा तत्कालीन प्रदेश सांसद अभिराम शर्मालाई जन्मकैदको फैसला सुनाएको थियो। हाल शर्मा सहित अन्य प्रतिवादीहरूको मुद्दा उच्च अदालत जनकपुरमा चलिरहेको छ।