एसपी रिपोर्टर
काठमाडौँ , वैशाख ३: नेपालले काठमाडौंको मुलपानी मैदानमा बुधबार हङ्कङलाई नौ विकेटले पराजित गर्दै यू–१९ विश्वकप क्रिकेटको एसियाली छनोट प्रतियोगितामा लगातार तेस्रो जित दर्ता गरेको छ।
टस हारेर पहिला ब्याटिङ गरेको हङ्कङले ४६.२ ओभरमा ११५ रन बनायो। जवाफमा नेपालले १२.३ ओभरमै लक्ष्य पार गर्दै ११८ रन बनाए। ओपनर साहिल पटेल ४२ र नरेन भट्ट ३९ रनमा अविजित रहे।बलिङतर्फ नेपालका युवराज खत्रीले १८ रन खर्चेर चार विकेट लिए। विपिन प्रसाद शर्माले तीन, सन्तोष यादवले दुई र अशोक धामीले एक विकेट लिए।यसअघि नेपालले यूएईलाई पाँच विकेट र ओमानलाई आठ विकेटले हराएको थियो। नेपालले अब शनिबार अफगानिस्तानसँग प्रतिस्पर्धा गर्नेछ। प्रतियोगितामा शीर्ष स्थान हासिल गर्ने एक टोलीले सन् २०२६ मा जिम्बाबे र नामिबियामा आयोजना हुने यू–१९ विश्वकपमा स्थान बनाउनेछ।