एसपी रिपोर्टर
जनकपुरधाम , वैशाख ३ : हनुमान जयन्तीको शोभायात्राका क्रममा वीरगन्जमा उत्पन्न तनावपछि मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सामाजिक सद्भाव कायम राख्न सबैलाई आग्रह गरेका छन्। उनले हिंसा फैलाउनेहरूलाई छानबिन गरी कानुनी कारबाही गर्न प्रहरी प्रशासनलाई निर्देशन दिएका छन्।
मुख्यमन्त्रीका अनुसार, वीरगन्ज धार्मिक र सांस्कृतिक विविधताको प्रतीक भएकोले त्यसको सद्भाव भंग गर्ने प्रयास दुःखद र चिन्ताजनक छ। उनले राजनीतिक दल, नागरिक समाज र सुरक्षाकर्मीको प्रयासको सराहना गरेका छन्।यस्तै, खानेपानी मन्त्री प्रदीप यादवले सामाजिक सञ्जालमार्फत शान्ति खलल गर्ने जोकोहीलाई कानुनी दायरामा ल्याउन आग्रह गर्दै समुदायबीचको मेलमिलापको परम्परा कायम राख्न आह्वान गरेका छन्।पर्सा प्रहरीले तोडफोडमा संलग्न दुवै पक्षका चार जनालाई पक्राउ गरेको जनाएको छ। मंगलबार निषेधाज्ञा उल्लंघन गरी प्रदर्शन गर्ने थप दुई जना पक्राउ परेका छन्। प्रदर्शनका क्रममा तीन जना पत्रकार घाइते भएको नेपाल पत्रकार महासंघ पर्सा शाखाले जनाएको छ।
आज पनि वीरगन्जका केही क्षेत्रमा प्रदर्शन जारी रहेको प्रहरीले जनाएको छ।