एसपी रिपोर्टर
जनकपुरधाम , वैशाख ३ : सिराहाको नवराजपुर गाउँपालिका–३ दोनबारी टोलमा २५ वर्षीया आनन्दीदेवी सदाय आफ्नै माइतीघरमा झुन्डिएको अवस्थामा मृत फेला परेकी छन्। उनी चार महिनाअघि बलात्कार प्रयासको सिकार बनेकी थिइन् र त्यसपछि न्यायको खोजीमा थिइन्।
सिराहा प्रहरीले घटनाको पुष्टि गर्दै अनुसन्धान जारी रहेको जनाएको छ। आनन्दीदेवी नरहा गाउँपालिका–६, बर्छवा टोलकी थिइन्। मृतककी आमा बिलटौनदेवी सदायका अनुसार, बलात्कार प्रयासपछि प्रहरीले न्याय दिन ढिलाइ गरेकाले छोरीले आत्महत्याको बाटो रोज्न बाध्य भएकी हुन्।चार महिना अघि, पुस ९ गते, आनन्दीदेवीलाई नवराजपुर गाउँपालिका–३ जगतपुरका संजिवकुमार यादव (२२) र श्यामसुन्दर यादव (३२) ले जबरजस्ती गर्ने प्रयास गरेका थिए। उनी दिदीको घर जाँदै गर्दा दुई युवाले सुनसान स्थानमा बलात्कार प्रयास गरेका थिए। चिच्याएर ज्यान जोगाएपछि उनले आमासहित इलाका प्रहरी कार्यालय महेशपुरपतारीमा किटानी जाहेरी दिएकी थिइन्।तर पीडित पक्षका अनुसार, प्रहरी इन्सपेक्टर रवीन मैनालीले तुरुन्त उजुरी दर्ता नगरी ढिलाइ गरे, जसका कारण आरोपीहरूविरुद्ध समयमै कारबाही हुन सकेन। घटनाको ६५ दिनपछि मात्र उजुरी दर्ता गरिएको पाइएको छ। उजुरी दर्ता नभएसम्म आरोपीहरू पीडितलाई मिलापत्र गर्न दबाब दिइरहेका थिए।हाल आरोपी फरार छन्। प्रहरीका अनुसार उनीहरू भारततिर भागेका हुनसक्ने आशंका गरिएको छ। जिल्ला प्रहरी कार्यालय सिराहाका प्रमुख एसपी अनन्तराम शर्माले आफू केही समयअघि मात्रै सरुवा भई आएको बताउँदै, “मैले आएपछि सबै मुद्दामा चासो दिएका छौँ। उजुरी दर्तामा केही ढिलाइ भएको स्वीकार्छु, तर अनुसन्धान बेवास्ता गरिएको होइन,” भने।
आनन्दीदेवीकी दुई वर्षीया एक छोरी छन्। उनको शव हाल लहानस्थित रामकुमार सारडा उमाप्रसाद मुरारका स्मारक अस्पतालमा राखिएको छ।