एसपी रिपोर्टर
जनकपुरधाम , वैशाख २ : तराई–मधेशमा आज जुडशीतल पर्व मनाइँदैछ। विक्रम संवत् नयाँ वर्षको सुरुआतमा मनाइने यो दुईदिने पर्वको पहिलो दिनलाई ‘सतुवाइन’ र दोस्रो दिनलाई ‘जुडशीतल’ भनिन्छ।
पहिलो दिन सातथरि अन्नको सतु बनाएर कूलदेवतामा अर्पण गरी ब्राह्मण तथा साधुहरूलाई दान गरिन्छ। दोस्रो दिन घरका ज्येष्ठले कान्छालाई जल छर्की आरोग्यता र दीर्घायुको आशीर्वाद दिने चलन छ।गर्मी मौसममा शीतलता र सहकालको कामना गर्दै मनाइने यो पर्वमा दही, चनाको पीठो, सोहिजनको तरकारी, तरुवा लगायत सुपाच्य परिकारको विशेष महत्व छ। मिथिलामा सबै जात–जातीले मनाउने यस पर्वले आपसी सद्भाव, सहकार्य र प्रकृतिप्रति कृतज्ञता प्रकट गर्ने सन्देश दिन्छ।