एसपी रिपोर्टर
धनुषा, वैशाख १ : तराई–मधेशका धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा, रौतहट, सिरहा र सप्तरी लगायतका जिल्लामा आज सतुवाइन पर्व मनाइँदै छ।
नयाँ वर्षको पहिलो दिन मनाइने यस पर्वमा चना, मकै, जौ, भटमास आदि भुटेर पिसिएको पिठो (सातु) खाइन्छ। जलेश्वर नगरपालिका–५ का संस्कृतिविद् ध्रुव रायका अनुसार सतुवाइन पर्व मिथिला क्षेत्रको महत्वपूर्ण परम्परा हो।पण्डित बद्रीनारायण झाका अनुसार सातु खाएर शीतलता प्राप्त गर्ने, स्वास्थ्य र सादगी जीवनशैली कायम गर्ने तथा सामाजिक सम्बन्ध सुदृढ बनाउने विश्वासका साथ यो पर्व मनाइन्छ।जलेश्वरनाथ महादेव मन्दिरका पूजारी उपेन्द्र पाठकले पनि सातु स्वास्थ्यका लागि लाभदायी भएको र नयाँ वर्ष सकारात्मक भावनासहित सुरु गर्ने उद्देश्यले सतुवाइन पर्वको महत्व बढ्दै गएको बताए।