एसपी रिपोर्टर
जनकपुरधाम, चैत २९ :
ऐतिहासिक तथा धार्मिक महत्वको गंगासागर पोखरीको पूर्वतर्फको डिलमा स्वर्गीय रामनारायण मिश्रको शालिक निर्माणको स्थानीयवासीले विरोध गरेका छन्। स्थानीयवासीले गंगासागर पोखरी धार्मिक र सांस्कृतिक दृष्टिकोणले अति संवेदनशील स्थान भएकाले यसमा कुनै प्रकारको संरचना निर्माण गर्नु उपयुक्त नहुने भन्दै सुरुवातमै विरोध जनाएका हुन्।
नेकपा एमालेका नेता शिवशंकर साहले स्वर्गीय मिश्रको योगदानप्रति सम्मान प्रकट गर्दै पोखरीको डिलमा संरचना निर्माण गर्नु उपयुक्त नहुने बताए। उनले पोखरीबाट १ सय मिटर परको गुठी जग्गामा शालिक निर्माण गर्न सुझाव दिए। एमाले नेता हिराले धार्मिक तथा ऐतिहासिक स्थलहरूको संरक्षणमा सबै पक्षले ध्यान दिन जरुरी रहेको बताए।
स्वर्गीय रामनारायण मिश्र विक्रम सम्बत २०१५ सालको प्रजातान्त्रिक निर्वाचनमा महोत्तरीबाट निर्वाचित सांसद हुनुका साथै बिपी कोइरालाको नेतृत्वको पहिलो जननिर्वाचित सरकारमा उद्योग मन्त्री थिए। उनका पालामा जनकपुर चुरोट कारखाना, वीरगञ्ज चीनी मिल, कृषि औजार तथा छाला उद्योगसहितका दर्जनौं उद्योग स्थापना भएका थिए।
२०१७ सालमा राजा महेन्द्रद्वारा संसद विघटनपछि मिश्रलाई जेल हालिएको थियो। जेलमै बिरामी परेका मिश्रको २०२७ साल पुस ६ गते निधन भएको थियो। स्थानीय समुदाय र सरोकारवाला पक्षहरूले गंगासागर पोखरीको ऐतिहासिकता र धार्मिक महत्त्व जोगाउन सबैले मिलेर काम गर्नुपर्नेमा जोड दिएका छन्। सालिक निर्माणको उद्देश्य सम्मानजनक भए पनि स्थान चयनमा गहिरो विचार र समन्वय आवश्यक रहेको उनीहरूको धारणा छ।