एसपी रिपोर्टर
जनकपुरधाम, चैत २९ :
वैदेशिक रोजगारीलाई भरपर्दो, विश्वसनीय र परिणाममुखी बनाउन सम्बद्ध सबै पक्षहरू गम्भीर र जिम्मेवार बन्नुपर्नेमा जोड दिइएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आयोजना र अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (IOM) को प्राविधिक सहयोगमा जनकपुरधाममा सम्पन्न मधेश प्रदेशस्तरीय छलफल तथा परामर्श कार्यक्रममा सहभागीहरूले मधेश प्रदेशबाट ठूलो सङ्ख्यामा श्रमिक वैदेशिक रोजगारीमा गए पनि अन्य प्रदेशको तुलनामा रेमिट्यान्स कम रहेको भन्दै सीपयुक्त कामदार तयार पारेर पठाउनुपर्ने आवश्यकतामा जोड दिनुभयो।
श्रम मन्त्रालयका अनुसार हाल १ लाख २० हजार विद्यार्थी अध्ययनका लागि विदेश गएका छन् भने आफन्त भेट्न विदेश गएका व्यक्तिको सङ्ख्या १ लाख ६७ हजार पुगेको छ। वैदेशिक रोजगारीका लागि १६ लाख नेपाली हवाई मार्गबाट विदेश गएका छन्। तीमध्ये १२ लाख ५० हजार स्वदेश फर्किए पनि बाँकी नफर्किएको तथ्य चिन्ताजनक रहेको मन्त्रालयका शाखा अधिकृत पुष्पा झाले जानकारी दिनुभयो।
वार्षिक रूपमा वैदेशिक रोजगारीबाट १८ देखि २० खर्ब रुपैयाँ रेमिट्यान्स भित्रिने गरेको छ। देशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा यसको योगदान २६.३ प्रतिशत रहेको छ।
मधेश प्रदेशको वैदेशिक रोजगारीमा २३.६ प्रतिशत हिस्सेदारी रहेको छ। अहिलेसम्म १ लाख ८० हजार ८७६ जनाले वैदेशिक रोजगार अनुमति लिएका छन्, जसमध्ये १८ हजार ८६१ महिला श्रमिक छन्। प्रदेशका १० जिल्लामध्ये धनुषाबाट सबैभन्दा बढी र पर्साबाट सबैभन्दा कम श्रमिक विदेश गएका छन्।
यद्यपि मधेशबाट ठूलो सङ्ख्यामा श्रमिक विदेश गएका भए पनि रेमिट्यान्स योगदान केवल १३.३ प्रतिशत रहेको छ। मधेशका श्रमिकले वार्षिक सरदर २ लाख १० हजार २७५ रुपैयाँ पठाउने गरेका छन्, जुन कोशी र गण्डकी प्रदेशको तुलनामा निकै कम हो, जहाँ श्रमिकहरूले वार्षिक ४ लाख रुपैयाँभन्दा बढी पठाउने गरेका छन्।
कार्यक्रममा सहभागीहरूले वैदेशिक रोजगारीको नाममा हुने ठगी र प्रलोभनबाट सबै तहका व्यक्तिहरू प्रभावित हुने गरेको बताए। यसै कारण वैदेशिक रोजगारीलाई प्रभावकारी र प्रतिफलमुखी बनाउन सबै पक्षले थप सतर्कता अपनाउँदै जिम्मेवार भूमिका निर्वाह गर्नुपर्नेमा सहभागीहरूको जोड थियो।