एसपी रिपोर्टर
जनकपुरधाम, चैत्त २८ : त्रिभुवन विश्वविद्यालय अन्तर्गतको रामस्वरुप रामसागर बहुमुखी (रा.रा.ब.) क्याम्पसका प्रमुख प्रा.डा. वसन्त कुमार कर्णले क्याम्पस सुधारको पक्षमा नरहेका शैक्षिक माफियाहरुको समुहले विभिन्न षडयन्त्र गरिरहेको बताएका छन् ।
चैत २१ गते आफूमाथि भएको कथित ‘कालोमोसो प्रकरण’लाई अतिरञ्जित गरिएको दाबी गर्दै बिहीवार आयोजित पत्रकार सम्मेलनमा कर्णले घटनाको पृष्ठभूमि, योजनाबद्ध षड्यन्त्र तथा आन्तरिक शैक्षिक माफियाहरुको भूमिकाबारे १२ बुँदे विवरण सार्वजनिक गर्दै उक्त घटनालाई आफ्नो चरित्र हत्या र मानसिक दबाब सिर्जना गर्ने प्रयासको रूपमा व्याख्या गरेका हुन ।
कर्णले आफू त्रिभुवन विश्वविद्यालयको इतिहासमै पहिलो पटक खुला प्रतिस्पर्धाबाट नियुक्ति पाएको र अल्पसंख्यक समुदायबाट पनि रहेकाले विगतदेखि नै आफूलाई असफल बनाउन विभिन्न हतकण्डा अपनाइँदै आएको दाबी गरे । उनका अनुसार सो दिन बेलुका विज्ञान भवनबाट मोटरसाइकलमा निस्कने क्रममा लुगामा मसि छर्किएको सामान्य घटनालाई ‘कालोमोसो दलियो’ भनेर अतिरञ्जित र भयावह गरिएको हो ।
परीक्षा सुधार, सिसिटिभी जडान, तथा निजी शिक्षण संस्थामा परीक्षा केन्द्र सार्ने प्रयासको अवरोधजस्ता कदमहरुले आन्तरिक शैक्षिक माफियालाई असहज बनाएको उनले बताए । साथै, परीक्षा प्रणाली मर्यादित बनाइँदा विद्यार्थीहरू अध्ययनमा केन्द्रित भए पनि केही शिक्षक र विद्यार्थी नेताहरूले शैक्षिक वातावरण बिथोल्ने प्रयास गरिरहेको आरोप पनि उनले लगाए ।
छात्रसंघ चुनावमा टिकट नपाएका असन्तुष्ट विद्यार्थी नेता र उमेरहद कटेका नेताहरूको उक्साहटमा सातवटै विद्यार्थी संगठनले तालाबन्दी गरेको उल्लेख गर्दै त्यसको आडमा अव्यवस्था सिर्जना गर्न खोजिएको उनको भनाइ थियो । कर्णले घटनाका योजनाकार क्याम्पसकै सहायक लेखापाल संजय कुमार दास भएको पनि उल्लेख गरेका छन् । उनले यस्ता घटनाबाट नडराई सुधार प्रक्रियालाई अघि बढाउने प्रतिबद्धता जनाउँदै, संलग्नलाई कानुनी दायरामा ल्याउन सम्बन्धित निकायसँग आग्रह गरे।
साथै उनले पहिला देखि वाँकी रहेको प्रयाध्यापकहरुको लाखौं रकम निकासा झमेला समाधानका लागि आफुले रजिष्ट्रार कार्यालय संग सहजीकरण गर्दा र मेरो निजी कलेजमा किन पढाएन ? भन्ने व्यक्तिगत रिसीविका कारण आफुमाथी आक्रमणहरु हुन थालेको उनको आरोप छ । पत्रकार सम्मेलनमा कर्णका साथमा क्याम्पसका प्रध्यापक, सहप्रध्यापकहरुको उपस्थिती थियो ।