एसपी रिपोर्टर
जनकपुरधाम , चैत्त २३ : खाना पकाउने एलपीजी ग्यास विक्रेताहरूलाई ग्यासमा आगो लाग्दा कसरी निभाउने भन्ने विषयमा विशेष तालिम दिइएको छ। शनिबार नेपाल आयल निगम लिमिटेडको प्रायोजनमा र ग्यास बिक्रेता महासंघको आयोजनामा धनुषास्थित ग्यास विक्रेताहरूलाई जनचेतनामूलक प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको हो।
तालिममा निगमसँग आबद्ध आगो नियन्त्रण विशेषज्ञहरूले ग्यास सिलिण्डरमा लिक वा अन्य कारणले आगलागी भएमा कसरी सुरक्षित तरिकाले निभाउने भन्नेबारे प्रशिक्षण दिएका थिए।कार्यक्रमका प्रमुख अतिथि जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज साहले गर्मीयामको समयमा आगलागीको जोखिम बढी हुने भएकाले यस्ता तालिम अत्यन्तै उपयोगी रहेको बताए। उनले ग्यास मात्र नभइ अन्य स्रोतबाट हुने सम्भावित आगलागीका घटनामा पनि सतर्कता अपनाउन सबैलाई आग्रह गरे।
जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारीले संघले ग्यास विक्रेतालाई सुरुदेखि नै सहयोग गर्दै आएको र आगामी दिनमा पनि आवश्यक सहयोग गर्न तत्पर रहेको बताए।ग्यास विक्रेता महासंघ धनुषाका सभापति फुलदेव पण्डितले पहिलो चरणमा विक्रेतालाई तालिम दिइएको र दोस्रो चरणमा उपभोक्ताहरूलाई समुहगत रूपमा प्रशिक्षण दिने योजना रहेको जानकारी दिए। महासंघका केन्द्रीय अध्यक्ष ज्ञानेश्वर अर्यालले गर्मीयाममा ग्यास लिक, पाइप बिग्रनुजस्ता कारणले आगलागीको जोखिम बढेकाले यस्तो तालिम अपरिहार्य भएको बताए।

कार्यक्रममा धनुषा जिल्लाका ग्यास विक्रेताहरू, मधेश प्रदेशस्तरीय पदाधिकारीहरू, सशस्त्र प्रहरी तथा अन्य सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।