एसपी रिपोर्टर
ढल्केबर , चैत्त २३ : धनुषाको उत्तरी क्षेत्रका ढल्केबर, धारापानी, गोदारलगायत स्थानका स्थानीयवासी आँखा पोल्ने समस्याबाट पीडित भएका छन्। वायु प्रदूषणका कारण यस्तो समस्या देखिएको हो।
ढल्केबरका रामकुमार महतोका अनुसार छिमेकी वन क्षेत्रमा लागेको डढेलोबाट निस्किएको धुँवाले आँखा पोल्ने समस्या उत्पन्न भएको छ। उनी तीन दिनदेखि यस समस्याबाट पीडित छन्।तर, डिभिजन वन कार्यालय धनुषाका प्रमुख विनोद सिंहले धनुषाको वन क्षेत्रमा डढेलो नलागेको बताए। उनका अनुसार महोत्तरी र सर्लाहीजस्ता छिमेकी जिल्लाका डढेलोको असर धनुषामा देखिएको हुनसक्छ।चिकित्सक सञ्जय यादवका अनुसार वायु प्रदूषणका कारण आँखा पोल्ने र श्वासप्रश्वासका समस्या देखिएको छ। बालबालिका र वृद्धवृद्धा विशेषगरी प्रभावित भएका छन्।
डढेलोबाट उत्पन्न सूक्ष्मकण र विषालु ग्यासबाट बच्न चिकित्सक यादवले अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन, नियमित आँखामा पानीले सफा गर्न, मास्क र चस्मा प्रयोग गर्न सर्वसाधारणलाई सुझाव दिएका छन्।