एसपी रिपोर्टर
काठमाणडौं , चैत्त २३ : देशभरका विभिन्न जिल्लाबाट आएका बालबालिकाहरूले शिक्षा विधेयकमा आफ्ना माग र समस्याहरू समेट्न शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईलाई सुझाव दिएका छन्। ‘जसको सवाल: उसैको सहभागिता, उसैको आवाज’ भन्ने नारासहित जाजरकोट, दैलेख, कालीकोट, सर्लाही, सप्तरी, महोत्तरीलगायत जिल्लाका बालबालिकाहरूले शिक्षामा सुधारका लागि आफ्ना धारणा प्रस्तुत गरेका हुन्।
उनीहरूले सुरक्षित र समावेशी शिक्षण वातावरण, शिक्षकको व्यवहार सुधार, बालविवाह नियन्त्रण, लैङ्गिक असमानता हटाउने, अभिभावक सचेतना र सामाजिक चुनौती समाधानका विषयमा जोड दिए।बालबालिकाको सुझावलाई मन्त्री भट्टराईले “भविष्यको नभई वर्तमानको आवश्यकता” भन्दै स्वागत गरिन्। उनले केही सुझाव विधेयकमा पहिल्यै समेटिएको बताउँदै बाँकी सुझावलाई पनि गम्भीरताका साथ समावेश गर्ने प्रतिबद्धता जनाइन्।
त्यस्तै, विद्यार्थीमाथि हुने उत्पीडन रोक्ने, बालमैत्री विद्यालय स्थापनामा स्थानीय तहसँग समन्वय गर्ने र नीति निर्माणमा बालबालिकाको आवाजलाई प्राथमिकता दिने मन्त्रीको भनाइ थियो।