एसपी रिपोर्टर
बुटवल, चैत्त २३ : सहकारी ठगी प्रकरणमा संलग्न रहेको अभियोगमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई शनिबार बिहान काठमाडौँबाट भैरहवा ल्याइएको छ।
उनलाई हाल जिल्ला प्रहरी कार्यालय, रुपन्देहीमा राखिएको छ।शुक्रबार बूढानीलकण्ठस्थित हेपाली हाइटमा रहेको आफ्नै निवासबाट प्रहरीले लामिछानेलाई पक्राउ गरी भद्रकालीस्थित जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा राखेको थियो।जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका प्रहरी प्रमुख एसपी रञ्जित सिंह राठौरका अनुसार लामिछानेलाई सोमबार अदालत खुलेपछि कारागार चलान गरिनेछ।शुक्रबार नै उच्च अदालत तुलसीपुरको बुटवल इजलासले सुप्रिम बचत तथा ऋण सहकारीको रकम ठगीसम्बन्धी कसुरमा लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो।
उक्त आदेश उच्च अदालतका न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीले संयुक्त इजलासबाट जारी गरेका हुन्।