एसपी रिपोर्टर
जनकपुरधाम, चैत्त २२ : मधेश सरकारको गृह सञ्चार तथा कानुन मन्त्रालयले मधेशका पत्रकार र सञ्चार माध्यमहरुको तत्कालिन समस्याहरु पहिचान र समाधानका लागि विभिन्न सरोकारवालाहरु सहित एक अध्ययन समितिको गठन गरेको छ । मन्त्रालयमा मन्त्री राजकुमार लेखीको अध्यक्षतामा भएको सर्वपक्षिय बैठकमा छलफलपछि ‘मधेश प्रदेशको सञ्चार क्षेत्रका समस्या पहिचान अध्ययन समिति’ को गठन गरिएको छ ।
मन्त्रालयका सचिव उद्वव प्रसाद रिजालको संयोजकत्वमा ११ सदस्यीय समिति बनाइएको छ । सदस्यहरुमा आम सञ्चार प्राधिकरण र मिडिया काउन्सिलका अगुवाहरु क्रमश श्यामसुन्दर यादव र कैलाश दास, नेपाल पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष श्याम प्रसाद बञ्जारा, विष्णु कुवँर (टेलिभिजन), उपासना तिवारी (रेडियो), आशीक अंसारी (बान) शंकर साह (पत्रपत्रिका), ज्योति झा (महासंघ महिला उपाध्यक्ष), पुरन साह (महासंघ धनुषा अध्यक्ष/अनलाईन) र यमुना खनाल (सञ्चारिका समुह) रहेका छन् ।

समितिले पत्रकार र सञ्चार माध्यमको वर्तमान अवस्था, चुनौती, समस्या र समाधानका लागि अध्ययन र प्रतिवेदन तयार गर्नुका साथै नीति सुधार र क्षमता अभिवृद्विका लागि प्रस्तावहरु सिफारिस गर्ने छ । मन्त्री लेखीले मधेशका मिडियाहरुको अवस्था बुझेर धरासयी भएकाहरुलाई कसरी पुर्नउत्थान गर्ने ? भन्ने उद्देश्यका साथ काम गर्न लागिएको बताए । उनले राम्रो काम र अध्ययन गरेर सुझाव पेश गर्न आग्रह गर्दै आफु त्यसको सुधारका लागि हरसम्भव प्रयास गर्ने बताए । बैठकमा विभिन्न सरोकारवालाहरुको उपस्थिती थियो ।