एसपी रिपोर्टर
रौतहट, चैत्त २२ : रौतहट उद्योग वाणिज्य संघमा असन्तुष्ट व्यवसायीहरूको समूहले संघको मुख्य प्रवेशद्वारमा तालाबन्दी गरेका छन्।
व्यवसायी राकेशकुमार झा, विकास विक्रम साह, कौशल साहलगायतका व्यापारीहरूले शुक्रबार संघको कार्यालयको मुल गेटमा ताला लगाएका हुन्। व्यवसायीहरूले संघको कार्य समितिको कार्यशैली प्रति असन्तुष्टि जनाउँदै, मर्यादित संस्थाको कार्यसमिति अध्यक्ष र महासचिवले नीजि स्वार्थका कारण गैरकानुनी ढंगले संघलाई बन्धक बनाउन खोजेको आरोप लगाएका छन्।व्यापारी विकास विक्रम साहका अनुसार, संघको विशेष साधारणसभा र अधिवेशनका लागि समय तोकिएपछि, संघको विधान विपरित नयाँ सदस्यता दर्ता गरिएपछि व्यापारीहरूले निकासको माग गरेका छन्।संघको विशेष साधारणसभा र अधिवेशन चैत २३ गते तोकिएको थियो, तर अध्यक्ष पण्डितप्रसाद जयसवालले त्यसलाई स्थगित गरेपछि महासचिव रबिन्द्रनाथ गोपालीले तोकिएकै समयमा सूचना जारी गरेका छन्।
संघका महासचिव गोपालीले संघको वर्तमान कार्यसमितिको पदावधी चैत २६ गतेसम्म मात्र रहेको र समयमै सक्षम नेतृत्व आउनुपर्ने माग गरेका छन्।