एसपी रिपोर्टर
महोत्तरी , चैत्त २२ : महोत्तरीको भूमिसुधार तथा मालपोत कार्यालयका नायब सुब्बा दीपेन्द्र नारायण चौधरीसहित तीन जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा अभियोगपत्र दायर गरेको छ।
कार्यालयका खरिदार मुन्नुकुमार दास र लेखापढी कानुन व्यवसायी जिवछ महतोले सेवाग्राहीसँग घुस माग्दै जग्गाको ट्रायल चेक गरी नक्सा सुधार गर्न सहजीकरण गरिदिने भनिरहेकामा उजुरीको आधारमा अख्तियारको बर्दिबास कार्यालयबाट खटिएको टोलीले उनीहरूलाई ३५ हजार घुससहित पक्राउ गरेको हो।अनुसन्धानका क्रममा नायब सुब्बा चौधरीको पनि मिलोमतोमा उक्त कार्य भइरहेको पाइएको छ, जहाँ उनीहरूले घुस लिएर जग्गाको ट्रायल चेक एवं क्षेत्रफल सुधार गरी लालपुर्जा बनाइदिने वचन दिएका थिए।
उनीहरूविरुद्ध एक महिनादेखि ६ महिना कैद र ३५ हजार रुपैयाँ बिगो मागदाबी गरिएको छ।