एसपी रिपोर्टर
जनकपुरधाम, चैत्त २२ : जनकपुरधामलगायत सम्पूर्ण मिथिलाञ्चलमा आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिँदै चैती छठपर्व हर्षोल्लासका साथ सम्पन्न भएको छ।
चार दिनसम्म विभिन्न विधि अपनाएर मनाइने यस पर्वको चौथो दिन आज बिहान श्रद्धालुहरूले पोखरी, नदी तथा जलाशयमा गई उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरे। जनकपुरधामका गङ्गासागर, अङ्गराज सर, दशरथ तलाउलगायतका स्थानमा भक्तजनहरूको उल्लेखनीय उपस्थिति देखियो।छठपर्वको प्रमुख विशेषता भनेको पोखरी वा नदीमा पूजा गर्ने परम्परा हो। यस अवसरमा भक्तजनहरूले पारिवारिक सुख, शान्ति, समृद्धि, रोगबाट मुक्ति तथा मनोकाङ्क्षा पूरा होस् भन्ने कामनासहित सूर्यदेवको आराधना गरे।चार दिनसम्म चल्ने यस पर्वमा ‘नहाय–खाय’, ‘खरना’, अस्ताउँदो सूर्यलाई अर्घ्य दिने, र अन्तिम दिन उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्ने परम्परा रहिआएको छ। श्रद्धालु भक्तजनहरूले परम्परागत फलफूल, ठकुवा, भुसवा, नरिवल लगायतका सामग्रीहरू चढाउँदै भक्ति गीत गाएर छठपर्व सम्पन्न गरेका छन्।