एसपी रिपोर्टर
जनकपुरधाम, चैत्त २१ : मैथिली भाषाका महाकवि विद्यापतिको नामबाट २०६८ सालमा स्थापना भएको विद्यापति पुरस्कारमा कहिले ढिलाई त कहिले हतारवाजीले पुरस्कार वितरण अव्यवस्थित हुने गरेको छ । पुरस्कार वितरण समारोह भब्य र बौद्विक मञ्चको रुपमा प्रस्तुत हुनुपर्नेमा औपचारिक नाम मात्रको कार्यक्रममा समिति हुन थालेको देखिन्छ ।
पुरस्कार लिने दिने कार्यक्रमका रुपमा मात्र सिमित देखिएको कार्यक्रममा विद्यापतिको रचना, योगदान सहितको बखान हुनुपर्ने र बौद्विक भब्य मञ्च बनाएर बौद्विक बहस र मन्थनका साथ यस्ता पुरस्कारहरु वितरण हुनुपर्ने जानकारहरु बताउछन् । तस्वीर हेर्दा विहिवारको कार्यक्रममा पुरस्कार वितरणका बेला मञ्च एकदमै अव्यवस्थित देखिन्छ ।

कोषले कार्यक्रमका बिच जनकपुरधाममा १० जना श्रष्टालाई पुरस्कृत गरेको छ । प्रत्येक वर्ष पाँच जनालाई दिईने पुरस्कार २०८० र ८१ का लागि उहाँहरुलाई पुरस्कृत गरेको छ । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहको प्रमुख आतिथ्यतामा नेपाल विद्यापति मैथिली भाषा साहित्य पुरस्कार २०८० बाट २ लाख राशी सहित मैथिली विकास कोष तथा सो पुरस्कार २०८१ का लागि प्रा. भोला झालाई प्रदान गरेको छ ।
नेपाल विद्यापति मैथिली कला संस्कृति पुरस्कार २०८० का लागि चर्चित मैथिली गायक रामकुमार मंडल(रामा मंडल) तथा सो पुरस्कार २०८१ का लागि दिपा मैथिली आर्ट ग्यालरी लाई प्रदान गरिएको छ । नेपाल विद्यापति मैथिली अनुसन्धान पुरस्कार २०८० का लागि विनोद कुमार यादव तथा सो पुरस्कार २०८१ का माला कर्णलाई प्रदान गरिएको छ । नेपाल विद्यापति मैथिली पाण्डुलिपि पुरस्कार २०८० पत्रकार श्याम सुन्दर शशि तथा २०८१ का लागि कवि काशी कान्त झालाई प्रदान गरिएको छ ।

त्यस्तै नेपाल विद्यापति मैथिली अनुवाद पुरस्कार २०८० का लागि विद्याधर झा तथा २०८१ का लागि पत्रकार श्याम सुन्दर यादवलाई प्रदान गरिएको छ । पुरस्कृति भएकाहरु मध्ये भाषा साहित्य पुरस्कार २ लाख तथा बाँकी पुरस्कार एक लाख राशीको तथा सम्मानपत्र रहेको छ ।
कोषका अध्यक्ष रामबाबु चौधरीको अध्यक्षतामा भएको सो नेपाल विद्यापति मैथिली पुरस्कार अर्पण समारोहमा बोल्दै मुख्यमन्त्री सिँहले कला संस्कृतिको धनी रहेको मधेश क्षेत्रमा यस्तो पुरस्कारले श्रष्टाहरुको हौसला बढ्ने बताए । उनले आफु विगत केहि समय देखि विभिन्न क्षेत्रमा अनुगमन गरिरहेको जानकारी गराउदै आगामी बैशाख ३ गते देखि विद्यालयहरुको समेत अनुगमन थाल्ने बताए ।

कार्यक्रममा बोल्दै कोषका अध्यक्ष चौधरीले विगतमा कोषको नाउँमा नेपाल सरकारले जम्मा गरेको एक करोड रकमको व्याजबाट प्रत्येक वर्ष पाँच जनालाई ६ लाख पुरस्कार दिने प्रावधान रहेपनि पुँजीगत रकमको वार्षिक ४ प्रतिशत मात्र ब्याज भईरहेकाले अगामी दिनमा पुरस्कारको राशी जोड्न समेत अव समस्या हुने जानकारी गराएका छन् । यसका लागि प्रदेश सरकारले समेत केहि रकम सो कोषमा जम्मा गर्नुपर्ने उनको आग्रह थियो । सो पुरस्कार वितरण कार्यक्रममा बृहत्तर जनकपुर क्षेत्र विकास परिषदका कार्यकारी निर्देशक बैद्यनाथ पासवान, कोषका सदस्य सचिव ध्रुव कुमार मंडल, सदस्य सुभद्रा शर्मा गौतम, सुधा कुमारी कर्ण तथा मैथिली कला संस्कृती संग सम्बन्धित व्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।