एसपी रिपोर्टर
जनकपुरधाम , चैत्त २१ : जनकपुरधाम सुनचाँदी व्यवसायी संघका वरिष्ठ सदस्य तथा न्यू अलंकार ज्वेलर्सका सञ्चालक सुरेश महतोको असामयिक निधनप्रति श्रद्धाञ्जली अर्पण गर्दै जनकपुरधामका सम्पूर्ण सुनचाँदी व्यवसायीहरूले बिहीबार एक दिनका लागि पसल बन्द गरेका छन्।
बुधबार राति करिब १० बजे हृदयघातका कारण महतोको निधन भएको हो। उनलाई तत्कालै अस्पताल लैजाने प्रयास गरिए पनि बाटोमै निधन भएको जनाइएको छ। परम्पराअनुसार सुनचाँदी व्यवसायी संघले शोकसभा गर्दै एक दिनका लागि व्यवसाय स्थगन गर्ने निर्णय गरेको हो।संघका उपाध्यक्ष राजिव कुमार चन्दनले भने, “सुरेश महतोजस्तो अनुभवी व्यवसायीको असामयिक निधनले हाम्रो व्यवसायिक समुदायलाई अपूरणीय क्षति पुगेको छ। उहाँले व्यवसायिक क्षेत्रमा पुर्याएको योगदान अविस्मरणीय छ। हामी उनको सम्झनामा एक दिन व्यवसाय स्थगन गर्दै श्रद्धाञ्जली अर्पण गर्दैछौं।”महतोको निधनप्रति संघका पदाधिकारी तथा व्यवसायीहरूले गहिरो दुःख व्यक्त गरेका छन्। व्यवसायीहरूले उनको योगदान स्मरणीय रहेको र उनको अनुपस्थितिले व्यवसायिक क्षेत्रमा ठूलो रिक्तता पैदा भएको बताएका छन्।
शोकमा व्यवसायीहरूले महतोप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनको आत्माको चिरशान्तिको कामना गरेका छन्। साथै, परिवारजनलाई धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भनी माता जानकीसँग प्रार्थना गरेका छन्।