एसपी रिपोर्टर
काठमाणडौं , चैत्त २१ : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आन्दोलनरत शिक्षक कर्मचारीहरूलाई वार्ताका लागि आग्रह गरेको छ। विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग गर्दै हिजोदेखि शिक्षक कर्मचारीहरू काठमाडौं केन्द्रित आन्दोलनमा छन्।
शिक्षकहरूले उठाएका विषयप्रति मन्त्रालय जानकार रहेको जनाउँदै वार्ताका लागि पहल गरिएको हो। शिक्षा मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले प्रेस विज्ञप्ति जारी गर्दै साझा धारणा निर्माण गर्न छलफल गर्न मन्त्रालय तयार रहेको उल्लेख गरेका छन्।विद्यालय शिक्षा विधेयक निर्माणको काम प्रतिनिधिसभाको शिक्षा समितिमा भइरहेको जनाउँदै मन्त्रालयले शिक्षक समुदायसँग फेरि सान्दर्भिक छलफल गर्न सरकार तयार रहेको स्पष्ट पारेको छ। मन्त्रालयले शिक्षक तथा कर्मचारीका प्रतिनिधिहरूलाई स्वागत गर्न तयार रहेको जनाएको छ।विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन तथा एकीकरण गर्न बनेको विद्यालय शिक्षा विधेयक, २०८० प्रतिनिधिसभामा पेश भई छलफल प्रक्रियामा छ। शिक्षक तथा कर्मचारीहरूले विधेयक छिटो पारित गर्नुपर्ने माग राख्दै हिजोदेखि काठमाडौंका सडकमा शैक्षिक आन्दोलन गरिरहेका छन्।शिक्षा मन्त्रालयले शिक्षक समुदायको पैरवी, सरोकार र ऐक्यबद्धताको विषयमा सकारात्मक दृष्टिकोण राखेको जनाएको छ। साथै, शिक्षक प्रतिनिधिहरूसँग यथोचित छलफल र परामर्श गरी विधेयकको मस्यौदा तयार पारिएको हुनाले यसको चाँडो पारित हुने अपेक्षा रहेको उल्लेख गरेको छ।
मन्त्रालयका प्रवक्ताका अनुसार विधेयक संसदमा पेश भई कानूनी प्रक्रिया अनुसार छलफल र स्वीकृति प्राप्त गर्ने चरणमा छ। यस सन्दर्भमा सामूहिक सन्देश प्रवाह गर्न मन्त्रालय सधैँ सकारात्मक रहेको पनि स्पष्ट गरिएको छ।