एसपी रिपोर्टर
जनकपुरधाम , चैत्त २१ : जनकपुरधाममा महापर्व चैती छठको अवसरमा प्रमुख सरोवरहरूमा भक्तजनहरूको घुइँचो लागेको छ। चार दिवसीय यस पर्वको पहिलो दिन ‘नहाय-खाय’, दोस्रो दिन ‘खरना’, तेस्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्ने, र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ्य दिने परम्परा रहिआएको छ।
छठ पर्वलाई मध्यनजर गर्दै जनकपुरधामका गंगासागर, अरगज्जा सागर लगायतका पोखरीहरू विशेष रूपमा सजाइएको छ। भक्तजनहरूले केरा, भुसबा, ठकुवा, नरिवल, उखु, मुला लगायतका विभिन्न फलफूलसहित सूर्यलाई अर्घ्य अर्पण गर्ने गर्छन्। छठ पूजा विशेष गरी पोखरी तथा नदी किनारमा गरिन्छ।यो पर्व वर्षमा दुईपटक— कात्तिक र चैत महिनामा— मनाइन्छ। पौराणिक कथनअनुसार, सती अनुसूयाले रोगग्रस्त पतिलाई निको पार्न भगवान सूर्य र षष्ठी देवीको पूजा आराधना गरेका थिए। महाभारत कालमा द्रौपदीले पनि कौरवहरूलाई पराजित गर्न सूर्यदेवको उपासना गर्दै छठ पर्व मनाएको उल्लेख पाइन्छ।
जनविश्वासअनुसार छठ पर्व मनाउँदा दुःख-तक्लीफबाट मुक्ति पाइने, सन्तान प्राप्ति हुने, चर्मरोग निको हुने, तथा पारिवारिक सुख-शान्ति कायम रहने विश्वास गरिन्छ। यसै कारण श्रद्धालुहरू भक्तिभावपूर्वक यो पर्व मनाउने गर्छन्।-न्युज एजेन्सी नेपाल