एसपी रिपोर्टर
काठमाणडौँ, चैत्त २० : नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच थाइल्यान्डमा भेटवार्ता हुने भएको छ। परराष्ट्र मन्त्रालयका अनुसार दुई प्रधानमन्त्रीबीच शुक्रबार साँझ ४ बजे भेटवार्ता तय गरिएको छ।
नेपाल र भारतका कूटनीतिक पहलका कारण अन्तिम समयमा भेटघाट सुनिश्चित भएको हो। प्रधानमन्त्री ओली हिजै थाइल्यान्ड पुगेका छन् भने भारतीय प्रधानमन्त्री मोदी भोलि त्यहाँ पुग्नेछन्। मोदी त्यहाँबाट श्रीलङ्का प्रस्थान गर्ने कार्यक्रम रहेको छ, र त्यसअघि प्रधानमन्त्री ओलीसँग भेट्ने समय मिलाइएको स्रोतले जनाएको छ।भारतका प्रधानमन्त्री मोदी अप्रिल ४ मा थाइल्यान्डबाट श्रीलङ्का जानेछन् र अप्रिल ६ मा भारत फर्कनेछन्। उता, प्रधानमन्त्री ओली अप्रिल ५ (चैत २३) मा नेपाल फर्किने कार्यक्रम रहेको छ।हाल नेपाल–भारत सम्बन्धमा चिसोपना देखिएको छ। भारतले प्रधानमन्त्री ओलीलाई भ्रमणको निम्तो नदिएको र मोदीले नेपाल भ्रमणको निमन्त्रणालाई स्वीकार नगरेको देखिन्छ। ओलीले भारत भ्रमणको चाहना राखे पनि निमन्त्रणाको अभावमा उनी चीन भ्रमणमा गएका थिए। चीनबाट फर्केपछि भारत भ्रमणको प्रयास भए पनि सफल हुन सकेको थिएन।
गत असोजमा अमेरिका भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले मोदीसँग भेट गरेका थिए। त्यसयता भारत भ्रमणको प्रयास भए पनि सम्भव भएको थिएन। अब भने दुई प्रधानमन्त्रीबीच थाइल्यान्डमा भेटवार्ता हुन लागिरहेको छ, जसले नेपाल–भारत सम्बन्धमा नयाँ मोड ल्याउने अनुमान गरिएको छ।