एसपी रिपोर्टर
काठमाणडौँ, चैत्त २० : शुक्रबार कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केटमा राजावादी प्रदर्शनकारीको एक समूह लुटपाटमा संलग्न भएको छ। लुटपाटको क्रममा साहसिक रूपमा प्रतिकार गर्ने सुरक्षा गार्ड कृष्णप्रसाद पराजुलीलाई भाटभटेनी सुपरमार्केटले ५ लाख १ हजार १११ रुपैयाँ पुरस्कारसहित सम्मान गरेको छ।
बुधबार आयोजित कार्यक्रममा भाटभटेनीले अर्को एक सुरक्षा गार्डलाई ५१ हजार रुपैयाँ तथा ड्युटीमा रहेका थप दुई जनालाई २५-२५ हजार रुपैयाँसहित सम्मान गरेको छ। साथै, तोडफोड तथा लुटपाटको समयमा कर्तव्यनिष्ठ रूपमा खटिएका अन्य कर्मचारीहरूलाई पनि सम्मान गरिएको छ।सुपरमार्केटका अध्यक्ष मीन बहादुर गुरुङले सम्मान वितरण गरेका हुन्। यो सम्मानले घटनाका क्रममा अग्रपंक्तिमा खटिएका कर्मचारीहरूको मनोबल उच्च बनाउने उद्देश्य राखिएको सुपरमार्केटका सिइओ राजु पौडेलले बताए।सुरक्षा गार्ड पराजुलीले लुटपाटमा संलग्न प्रदर्शनकारीहरूलाई प्रतिकार गर्दै लिस्टी प्रहार गरी भगाएको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। घटनाका क्रममा करिब ८० लाख रुपैयाँ बराबरको क्षति भएको कम्पनीले जनाएको छ, जसमा ६४ लाख ८८ हजार रुपैयाँ बराबरको सामान लुटिएको बताइएको छ।
तर, घटनापछि सुपरमार्केट शनिबार बिहानैदेखि सञ्चालनमा आएको थियो। यसका लागि कर्मचारीहरूले रातभर सरसफाइ तथा मर्मतसम्भारमा खटिएका थिए।