एसपी रिपोर्टर
जनकपुरधाम, चैत्त १९ : धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकामा बिना दर्ता सञ्चालनमा रहेका ११ वटा निजी विद्यालयहरू बन्द गरिएका छन्।
गाउँपालिका अध्यक्ष जयकुमार यादवले जारी गरेको सूचनाका अनुसार सम्बन्धित विद्यालयहरूलाई पटक–पटक अनुमति लिन आग्रह गरिए पनि अटेर गरेकाले कार्यपालिका समितिको निर्णयअनुसार तालाबन्दी गरिएको हो।बन्द गरिएका विद्यालयहरूमा न्यू स्काई ईङ्गलिस स्कुल, तराई ईङ्गलिस बोर्डिङ स्कुल, चाईल्ड डेभेलपमेन्ट एण्ड लर्निङ सेन्टर, गंगालाल शिशु पाठशाला, आदर्श विद्या ईङ्गलिस स्कुल, गोल्डेन भ्याली एजुकेशनल एकेडमी, सेन्ट जेभियर ईङ्गलिस बोर्डिङ स्कुल, उज्वल विद्या ईङ्गलिस एकेडमी, जिनियस ईङ्गलिस बोर्डिङ स्कुल, आराध्या पब्लिक स्कुल, आरोही इन्टरनेशनल एकेडमी रहेका छन्।स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार गाउँपालिकाभित्र आधारभूत तथा माध्यमिक तहसम्मको शिक्षाको सञ्चालन तथा व्यवस्थापनको अधिकार स्थानीय तहलाई रहेको छ। यही व्यवस्थाअनुसार शिक्षाको गुणस्तर सुधार गर्न कदम चालिएको अध्यक्ष यादवले जनाएका छन्।
पालिकाले बन्द गरिएका विद्यालयहरूमा बालबालिकालाई भर्ना नगर्न अभिभावकहरूलाई आग्रह समेत गरेको छ।