एसपी रिपोर्टर
जनकपुरधाम, चैत्त १९ :मधेसमा श्रद्धा र निष्ठासाथ मनाइने चार दिवसीय चैती छठ पर्व आजदेखि सुरु भएको छ। चैत शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने यो पर्वको पहिलो दिन व्रतालुले ‘नहाय–खाय’ विधिबाट आरम्भ गर्छन्।
सूर्य उपासनाको यो पर्व वर्षमा दुईपटक— शरद र वसन्त ऋतुमा मनाइन्छ। पहिलो दिन पवित्र स्नान गरी शुद्ध आहार ग्रहण गरिन्छ, दोस्रो दिन ‘खरना’ विधिमा दिनभर उपवास बसेर राति खिर खाने प्रथा छ। तेस्रो दिन साँझ जलाशयमा उभिएर अस्ताउँदो सूर्यलाई अर्घ अर्पण गरिन्छ, जसलाई ‘सँझिया घाटको अरघ’ भनिन्छ।
अन्तिम दिन बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर ‘पारन’ गरी पर्व सम्पन्न गरिन्छ। छठमा ठेकुवा, केरा, उखु, सुन्तला, निम्बु, मुला जस्ता फलफूल अर्घ्यका रूपमा चढाइन्छ। सूर्य र षष्ठी माताको उपासनाले मनोकांक्षा पूरा हुने र छालाजन्य रोग नलाग्ने जनविश्वास रहेको छ।