एसपी रिपोर्टर
जनकपुरधाम, चैत्त १९ : महोत्तरीको बर्दिबास नगरपालिका-३ बाट प्रहरीले २३५ किलो लागूऔषध गाँजासहित मिनी ट्रक र त्यसका चालकलाई पक्राउ गरेको छ।
सोमबार साँझ ६:४५ बजे बिपी राजमार्गअन्तर्गत सिन्धुलीबाट बर्दिबासतर्फ आउँदै गरेको बागमती प्रदेश–०१–००६ ख ५३७१ नम्बरको निलो मिनी ट्रकलाई रोकी चेकजाँच गर्दा गाँजा फेला परेको हो।इलाका प्रहरी कार्यालय बर्दिबास र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय बर्दिबासको संयुक्त प्रहरी टोलीले जाँचका क्रममा ट्रकको हुडमा फल्स बटम बनाई कालो त्रिपालले छोपेर लुकाइएको अवस्थामा २० वटा पोकामा राखिएको २३५.६ किलोग्राम गाँजा बरामद गरेको महोत्तरी प्रहरी प्रवक्ता डीएसपी सन्तुलाल जयसवारले जानकारी दिए।
मिनी ट्रकका चालक मकवानपुर, थाहा नगरपालिका-७ डाँडाबासका २७ वर्षीय कबिराज गोलेलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।