एसपी रिपोर्टर
जनकपुरधाम , चैत १८ : जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–९ थापाचोकस्थित जनकपुर सिता हस्पिटलका म्यानेजर मधु महतो र बिचौलिया सुभाष मुखियालाई प्रहरीले पक्राउ गरेको छ।
उनीहरूलाई अस्पताल दर्ता नगरी सञ्चालन गर्दै स्वास्थ्य मापदण्ड उल्लंघन गरेको आरोपमा पक्राउ गरिएको हो।गत माघ २६ गते मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले अनुगमनको क्रममा सो अस्पताल दर्ता नगरिएको र मापदण्ड पूरा नगरी सञ्चालन भइरहेको पाएका थिए। त्यसपछि मुख्यमन्त्री सिंहले अस्पताललाई दर्ता गरेर मात्र सञ्चालन गर्न निर्देशन दिएका थिए। केही समय अस्पताल बन्द राखिएको थियो, तर हालै पुनः अस्पताल सञ्चालनमा ल्याइएको थियो।अस्पतालको मुख्यद्वारमा ‘यो अस्पताल अनिश्चितकालको लागि बन्द गरिएको छ’ भन्ने बोर्ड झुण्ड्याइएको भएता पनि भित्र उपचार भइरहेको देखिएको थियो। मुख्यमन्त्री सिंह आज एक कार्यक्रमबाट फर्किने क्रममा अचानक सो अस्पतालमाथि ध्यान गयो। शंका लागेर उनले अस्पतालको भित्र पुग्दा पाँच जना बिरामीहरूको उपचार भइरहेको देखे। त्यसपछि उनले प्रहरीलाई बोलाएर म्यानेजर महतो र बिचौलिया मुखियालाई पक्राउ गर्न लगाएका थिए।
सो अस्पतालका सञ्चालक डा। प्रमोद यादवसहित अन्य पाँच जना छन्। मुख्यमन्त्री सिंहको कडा निगरानी र कदमपछि अस्पताललाई अनधिकृत रूपमा सञ्चालन गर्ने र मापदण्ड उल्लंघन गर्ने कार्यमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरिएको हो।