एसपी रिपोर्टर
जनकपुरधाम, चैत १८ :
नेपाली कांग्रेसका नेता एवम् पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री बिमलेन्द्र निधिले पूर्व राजा ज्ञानेन्द्रको गतिविधिलाई संविधान विपरीत भएको बताएका छन्।
सोमबार जनकपुरधाम वडा नं ११ मा आयोजित एक कार्यक्रममा बोल्दै नेता निधिले गणतन्त्र, संघीयता र लोकतन्त्रको पक्षमा यो देशका नागरिकहरू नै मालिक रहेको बताएका छन्। उनले राजाको समयमा सार्वभौम सत्ता राजाको हातमा हुने गरेको र अहिले लोकतन्त्रमा त्यो सत्ता जनताको हातमा रहेको कारण जनतानै यो देशको मालिक भएको धारणा व्यक्त गरे। नेता निधिले ज्ञानेन्द्रलाई पूर्वराजा भन्नु भन्दा अन्तिम राजा भन्नु उचित रहेको पनि बताए। उनले नेपालमा पुनः राजतन्त्र कहिले पनि फर्किने दाबी समेत गरे।
नेता निधिले राजतन्त्रको समयमा नेपाली जनताले हरेक संकटको घडीमा राजालाई साथ दिएको स्मरण गराउँदै भने, “राजाले त्यसको बदला नेपाली जनतालाई धोका मात्र दिएको छ।”
कार्यक्रममा वडा नं ११ का १२० जना जेष्ठ नागरिक र १८ जना अपाङ्गलाई सम्मान गरिएको थियो। साथै, वडावासीहरूका लागि निशुल्क आँखासिविरमा मोतियाबिन्दको उपचार गरिएको थियो। वडाका १५ जना महिलालाई ब्यूटी पार्लरको तालिम दिइएको छ भने, अबको केही दिनमा वडाभरिका ८ देखि १० कक्षासम्मका विद्यार्थीहरूका लागि निशुल्क कोचिङ कक्षा सञ्चालन गर्ने घोषणा वडाध्यक्ष अर्जुन चौधरीले गरेका छन्।