एसपी रिपोर्टर
काठमाणडौँ , चैत १८ : जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको घटनालाई आपराधिक क्रियाकलापको संज्ञा दिएका छन्।
सोमबार भक्तपुरमा आयोजित एक कार्यक्रममा उनले लोकतन्त्रमा सबैलाई आफ्नो विचार राख्न र बोल्नको अधिकार भए तापनि सो दिनको उग्र गतिविधि अपराध गर्ने मानसिकताबाट प्रेरित भएको बताए। राजतन्त्र फर्काउने नाममा भएको हत्या, आगजनी र तोडफोडले लोकतान्त्रिक पद्धतिको खिल्ली उडाएको र सो दिनका सम्पूर्ण गतिविधिहरू हिंसात्मक र आपराधिक रहेको टिप्पणी गरे। यादवले दोषीलाई कारबाहीको दायरामा ल्याउनुपर्ने आवश्यकता औंल्याए।उनले सरकार संसद र सिंहदरबारमा मजबुत भए तापनि जनताका बीचमा कमजोर रहेको बताएका छन्। बिचौलिया, भ्रष्टाचार र कमिसनखोरको बिगबिगीका कारण नेपाल सरकारप्रति जनता रुष्ट रहेको पनि यादवले बताएका छन्। उनले राजनीतिक दलहरूले समयमै सुधारको ध्यान नदिएको खण्डमा देशको अवस्था झनै दयनीय बन्ने चेतावनी दिएका छन्।