एसपी रिपोर्टर
जनकपुरधाम, चैत्त १८ : नेपाल पत्रकार महासंघको केन्द्रिय, प्रदेश र जिल्ला शाखाहरुले नेपाल सरकारलाई सात दिने अल्टिमेटम सहित ज्ञापनपत्र बुझाएको छ । गत चैत १५ गते काठमाण्डौंको तिनकुनेको एकमा ढोका थुनेर पत्रकार जलाएर मारिनुका साथै पत्रकार र सञ्चार माध्यमहरुमा भएको आगजनी र आक्रमणको घटना विरुद्व महासंघले देशव्यापि रुपमा एकैदिन सात प्रदेश र ७७ शाखा बाट ज्ञापन पत्र बुझाएको हो ।
यसै क्रममा नेपाल पत्रकार महासंघ धनुषा शाखाले जिल्लाका सिडिओ मार्फत नेपाल सरकारलाई ज्ञापन पत्र बुझाएको हो । धनुषा अध्यक्ष पुरन साहको नेतृत्वमा केन्द्रिय लेखा समिति संयोजक केसी लामिक्षाने, केन्द्रिय सदस्य राजेश कर्ण सहित मधेश प्रदेश अध्यक्ष श्याम बञ्जारा सहित मधेश समितिका पदाधिकारी र जिल्ला कार्यसमिति सहित स्थानिय पत्रकारहरुको एक ठुलो समुह धुनषाका प्रमुख जिल्ला अधिकारी रामुराज कडरियालाई ज्ञापन पत्र बुझाएको हो ।

साथै आजै महासंघ मधेश प्रदेश कार्यसमितिले मधेशका मुख्यमन्त्री सतिश कुमार सिंहलाई पनि ज्ञापन पत्र बुझाएको छ । मुख्यमन्त्री निवासमा पुगेर मधेश अध्यक्ष बञ्जारा नेतृत्वको टोली मुख्यमन्त्री सिंहलाई ज्ञापन पत्र बुझाउदै सात दिन भित्र मांग सम्बोधनका लागि नेपाल सरकारलाई दबाब दिन आग्रह गरेका छन् ।

साथै अन्य प्रसंगमा भएको कुराकानीमा अध्यक्ष बञ्जाराले पत्रकार र पत्रकार महासंघको हितमा अगामि बजेटमा ध्यान दिन पनि मुख्यमन्त्रीलाई आग्रह गरेका छन् ।

यस्तो छ, ज्ञापन पत्रको व्यहोरा
उपरोक्त विषयमा यही चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनका क्रममा अराजक समुहले सञ्चारमाध्यम र सञ्चारकर्मीलाई निसाना बनाएको सरकारलाई अवगतै छ ।
घटना विवरणः
१. भिडियो खिच्ने क्रममा पत्रकार सुरेश रजकको आगोमा जलेर ज्यान गएको ।
२. अन्नपूर्ण पोष्ट दैनिकको कार्यालय भवनको भुइँतल्लामा आगो लगाउनुको साथै ढुंगामुढा गरी क्षति पु¥याइएको ।
३. कान्तिपुर टेलिभिजनको भवनमा ढुंगामुढा गरी क्षति पु¥याइएको ।
४. हिमालयन टेलिभिजनको सवारी साधनमा तोडफोड गरी क्षति पु¥याइएको ।
५. पत्रकार दिनेश गौतममाथि आक्रमण गरी खुट्टा भाँचिएको ।
६. फोटो पत्रकार निराज तामाङको क्यामेरा हराएको ।
उल्लेखित घटनाप्रति नेपाल पत्रकार महासंघ गम्भीर छ । अतः प्रमुख जिल्ला अधिकारी ज्यूमार्फत नेपाल सरकारसमक्ष ज्यान गुमाएका पत्रकारको हत्याबारे गहिरो अनुसन्धान गरी हत्यामा संलग्न सबैलाई फौजदारी अभियोगमा कारबाही गर्न तथा उनको परिवारलाई क्षतिपूर्ति दिन, सञ्चारमाध्यम र सञ्चारकर्मीमाथि आक्रमण गर्ने सबैलाई कानुनी कठघरामा ल्याउन तथा क्षति पु¥याइएका सञ्चारगृह र सञ्चारकर्मीलाई यथोचित क्षतिपूर्तिका साथै घाइते पत्रकारको उपचारको प्रवन्ध मिलाउन महासंघ जोडदार माग गर्दछ ।
साथै, विगतमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हननका घटनाहरूमा संलग्नहरूलाई तत्काल कानुनी कारबाही गर्न र भविष्यमा सञ्चारमाध्यम र सञ्चारकर्मीको सुरक्षाको उचित प्रवन्ध मिलाउन पनि महासंघ माग गर्दछ । हाम्रो माग एक साताभित्रै सम्बोधन हुने विश्वसनीय आधार निर्माण गर्न जिल्ला प्रशासन कार्यालय धनुषा मार्फत नेपाल सरकारसमक्ष आग्रह गरिन्छ । अन्यथा महासंघ सरकारविरुद्ध देशव्यापी आन्दोलनमा उत्रन बाध्य हुनेतर्फ ध्यानाकर्षण गराइन्छ ।

