एसपी रिपोर्टर
जनकपुरधाम , चैत १८ : मधेसका मुख्यमन्त्री सतिश सिंहले मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानको एकेडमिक भवनको शिलान्यास गरेका छन्। जनकपुरधाम–१४ स्थित मणि मण्डप पछाडिको गुठी जग्गामा निर्माण हुन लागेको उक्त भवनले प्रतिष्ठानका शैक्षिक गतिविधिहरूलाई थप सहज बनाउने अपेक्षा गरिएको छ।
शिलान्यास समारोहमा मुख्यमन्त्री सिंहले अढाई करोड रुपैयाँको ठेक्का आह्वान भइसकेको जानकारी दिँदै समयमै निर्माण कार्य सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरे। साथै, निर्माण कार्य निर्धारित समयभन्दा अगाडि सम्पन्न भए ठेकेदारलाई प्रोत्साहन (इन्सेन्टिभ) दिने र ढिलाइ भएमा जरिवाना (पेनाल्टी) लगाउने रणनीति रहेको बताए।मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार विनोद यादवका अनुसार प्रतिष्ठानको शैक्षिक भवनसहित कक्षा कोठा, प्रयोगशाला र अस्पतालको संरचना निर्माण गर्ने योजना रहेको छ। उनले यस भवन निर्माणपछि न केवल शैक्षिक गतिविधिमा सुधार आउने, तर सम्पूर्ण स्वास्थ्य सेवामा पनि आमूल परिवर्तन आउने बताए।यद्यपि, गुठीको जग्गामा भवन निर्माण गर्ने निर्णय विवादरहित भने छैन। स्थानीयवासीले उक्त जग्गाबाट बाटो सञ्चालन हुँदै आएको भन्दै भवन निर्माणसँगै बाटो बन्द हुने आशंका गरेका छन्।
तर, जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोजकुमार साहले कानुनी प्रक्रिया पूरा गरी भवन निर्माण हुन लागेको स्पष्ट पारे। उनले सामाजिक कार्यका लागि निर्माण भइरहेकाले भवनको दुवै छेउमा वैकल्पिक सडकको व्यवस्था मिलाइने जानकारी दिँदै सबै पक्षलाई सहयोग गर्न आग्रह गरे।