एसपी रिपोर्टर
राजविराज , चैत १७ : राजविराजस्थित मधेश कृषि विश्वविद्यालयका प्राध्यापक र कर्मचारीहरूले आइतबारदेखि पुनः आन्दोलन सुरु गरेका छन्।
भदौ महिनादेखि तलब नपाएका कारण उनीहरूले घरपरिवार चलाउन समस्या परेको बताएका छन्। यसअघि फागुन १ गते पनि प्राध्यापक र कर्मचारीहरूले तलब नपाएको भन्दै प्रशासनिक भवनमा ताला लगाएका थिए।मधेश प्रदेशका मुख्यमन्त्री र विश्वविद्यालयका कुलपति सतिशकुमार सिंहको उपस्थितिमा सम्पन्न सर्वपक्षीय भेलाबाट कर्मचारीलाई तलब दिने प्रक्रिया अपनाउने निर्णय भएपनि समस्या समाधान भएको छैन।फागुन २० मा भएको विश्वविद्यालयको सिनेट बैठकले उपकुलपति डा. वैद्यनाथ महतो र रजिस्ट्रार श्रीभगवान ठाकुरलाई पदमुक्त गर्ने निर्णय गरेपछि विवाद थप चर्किएको छ। सर्वोच्च अदालतको अल्पकालीन आदेशपछि पदमुक्त नगर्ने निर्णय गरिए पनि कर्मचारीहरूले अझै तलब पाएका छैनन्।विश्वविद्यालयका रजिस्ट्रार श्रीभगवान ठाकुरका अनुसार नीति र कार्यक्रम पास नगरेको कारणले कर्मचारीलाई तलब दिन सकिएको छैन।
आन्दोलनको कारण विश्वविद्यालयका विद्यार्थीहरूको पढाइ प्रभावित हुने खतरा उत्पन्न भएको छ।